कहिलेबाट खुल्छन् दशैंमा घर जाने अग्रिम टिकट ?

काठमाडौं । दशैं नजिकिएको छ । शहर बजारमा बस्नेहरु अधिकांश आफ्नो जन्मघर फर्कने यो चाडका लागि यातायात व्यवसायीलाई व्ववस्थापन निकै हम्मे हम्मे पर्छ । तर, यसपाली देशभर कोरोना महामारी छ । यस्तो अवस्थामा दशैं कसरी मनाउने भन्ने अन्यौलसमेत रहेको छ । तर, सर्वसाधारणमा चासो भने छ, दशैंमा घर जाने बसका अग्रिम टिकट कहिले खुल्छन् ?

यातायात व्यवस्था विभागले असोज २० गतेबाट सार्वजनिक सवारीमा दशैंको अग्रिम टिकट बुकिङ खुलाउन व्यवसायीसँग अनौपचारिक प्रस्ताव भने गरिसकेको छ । यातायात व्यवसायीहरुसँग विभागको यस्तो प्रस्ताव आएको व्यवसायीले जानकारी दिएका छन् ।

असोज २० देखि २५ सम्म अग्रिम टिकट बुकिङ खुला गर्ने र त्यसपछि नियमित प्रक्रियाबाट यातायात संचलन गर्ने प्रस्ताव विभागले गरेको हो । त्यसो त शहर बजारमा काम नभएका मानिसहरु अहिले पनि घर फर्किरहेका छन् । अहिले घर फर्कनेहरुका लागि तुलनात्मक रुपमा वातावरण सहज पनि छ ।

किनकी सवारी साधनमा साविकमा जस्तो अधिक भिडभाड छैन । विभागका अनुसार यो वर्ष करिब ५ लाख व्यक्ति दशैं मनाउन उपत्यका बाहिर जाने अनुमान छ । त्यसो त उपत्यकाबाट मात्र हरेक वर्ष २० लाख भन्दा बढी मानिस दशैं मान्न बाहिरिने गरेका छन् । यो पटक आधा जती मानिस पहिला नै गाउँ गएर बसेका छन् ।

केही मानिस भने कोरोनाको जोखिमका कारण काठमाडौं नछाड्ने मुडमा हुनेछन् । उता, व्यवसायी भने सवारी साधनमा सबै सिटमा यात्रु राख्न पाउनुपर्ने अडानमा छन् । अहिले बसमा एक सीटमा एक जना मात्र यात्रु राखेर यात्रा भइरहेको छ । सरकारले सार्वजनिक सवारीमा ५० प्रतिशत बढी भाडा लिएर सिटमा ५० प्रतिशत मात्रै यात्रु राख्न पाउने नियम कार्यान्वयनमा ल्याएको हो ।