काठमाडौं । बढ्दो दवावका बीच काठमाडौं उपत्यकामा पुनः निषेधाज्ञा खुकुलो बनाउने तयारी शुरु भएकोछ । नगरपालिका फोरमले नाका कडाई गरी उपत्यकाभित्र निषेधाज्ञा खुकुलो बनाउन सिफारिस गरेको छ । ललितपुर महानगरपालिकाका मेयर चिरिवावु महर्जनको अध्यक्षतामा मंगलबार बैठक बसेको थियो ।
बैठकले उपत्यकामा जारी निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउनुपर्ने निष्कर्ष निकालेको हो । उपत्यका छिर्ने नाकामा भने सेना परिचालन गर्नु पर्ने बैठकको निष्कर्ष रहेको छ । फोरममा उपत्यका भित्रका स्थानीय तहका जनप्रतिपनिधि रहेका छन् । उपत्यकामा कोरोना संक्रमणको दर उच्च दरमा बढेको छ ।
तर, उपत्यकामा दैनिक काम गरेर खाने मानिसहरुको समस्या चर्कदै गएपछि सरकारलाई निषेधाज्ञा खुकुलो बनाउन दवाव बढेको छ । किनकी यस बीचमा सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि निषेधाज्ञाबाहेक कुनै उपलब्धी हाँसिल गरेन ।
अब संक्रमितलाई सकेसम्म आम मासिनको सम्पर्कमा जान नदिने तर दैनिक जनजीवन भने सामान्य बनाउँदै लैजाने तयारी छ । नगरपालिका फोरमले नागरिकलाई जनस्वास्थ्यका मापदण्डबारे सचेत र जिम्मेवार बनाउँदै जाने, उद्योग, व्यवसाय र कलकारखाना सञ्चालन गर्दा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराउने, सवारी साधन जोर बिजोर गराउने, सार्वजनिक सवारी भने तत्काल सञ्चालन नगर्ने निर्णय गरेको छ ।
यी निर्णयलाई स्थानीय प्रशासनमा सिफारिस गरेपछि गृह मन्त्रालय मातहतका निकायले निर्णय गर्नेछन् । बैठकले उपत्यकाका स्थानीय तहहरुले दिने सेवा पनि आवश्यकताअनुसार सुचारु गर्ने निर्णय लिएको छ । बैठकले कागेश्वरी मनोहरा नगरका मेयर कृष्णहरि थापाको संयोजकत्वमा स्थानीय सरकार सञ्चालन ऐन संशोधनमा धारणा निर्माण गर्न ५ सदस्यीय कार्यदल गठन गरेको छ ।