काठमाडौं आउने पृथ्वी राजमार्ग ६ दिनपछि संचालनमा

File

काठमाडौं । काठमाडौंलाई अन्य जिल्लासँग जोड्ने मुख्य पृथ्वी राजमार्गको अवरोध ६ दिनपछि खुलेको छ । नौबिसे-मुग्लिङ सडकखण्डको बीचमा पर्ने मौवाखोलामा पुल बाढीले बढाएपछि सडक अवरुद्ध भएको थियो । सडक मर्मत भएपछि गएरातीबाट दुईतर्फी गाडी चल्न थालेको प्रहरीले जनाएको छ । मौवाखोलाको पुल मर्मतको काम सकिएको छ ।

पुल बगेपछि यो सडकखण्ड ५ साउनमा बन्द भएको थियो । उता, पहिरोका कारण अवरुद्ध बेनी-जोमसोम-कोरोला सडकखण्ड भने दुई साताभन्दा बढी समयदेखि अवरुद्ध रहेको छ । म्याग्दीको दाना र गलेश्वर क्षेत्रमा ठूलो पहिरो खसेर यो सडक अवरुद्ध बनाएको छ । यहाँ बेलिब्रिज समेत बगेको छ । देशका अन्य विभिन्न दुई दर्जन स्थानका सडक अवरुद्ध छन् ।

पछिल्लो तीन दिन यता मौसम केही अनुकुल भएपनि सोमबारबाट मनसुन पुनः सक्रिय हुने मौसम विज्ञान विभागले जनाएको छ । पहिरोका कारण साँफेबगर-मार्तडी सडकखण्ड १६ दिनदेखि बन्द छ । पहिरोका कारण १२ दिनदेखि अवरुद्ध कान्ति लोकपथ समेत बन्द नै रहेको छ । एक सातायता बेशी शहर-चामे सडकखण्ड समेत संचलनमा आउन सकेको छैन । डुम्रे-बन्दीपुर सडकखण्ड र गल्छी-त्रिशुली-मैलुङ-स्याुफ्रुबेशी-रसुवागढी सडकखण्ड समेत बन्द छन् ।