काठमाडौं उपत्यकामा जोर-विजोर प्रणाली हट्यो

काठमाडौं । कोरोना भाइरसको संक्रमण ओरालो लागेसँगै काठमाडौं उपत्यकामा जोर विजोर प्रणाली हटेको छ । यो नियम सोमबारदेखि लागु हुने छ । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को सिफारिस अनुसार उपत्यकाका तीनै जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) को प्रशासन कार्यालयले आइतबार मध्यराति सवारी साधानमा जोर बिजोर हटाउने निर्णय गरेको हो ।

कोरोनाको रोकथाम, नियन्त्रण, उपचार र आम नागरिकले जनस्वास्थ्यको पूर्ण रुपमा पालना गर्नुपर्ने निर्णय समेत भएको छ । सार्वजनिक स्थलमा अनिवार्य रुपमा मास्कको प्रयोग गर्नु पर्ने छ । घरबाट बाहिर निस्किँदा अनिवार्य रुपमा खोपकार्ड (मोबाइलमा भए पनि हुने) राख्‍नु पर्ने भएको छ ।

सरकारी कार्यालय र व्‍यवसायिक स्थलहरुमा मास्कको अनिवार्य प्रयोग गर्नु पर्नेछ । मास्क नलगाइ आएमा व्‍यवस्थापकले पाँच सय रुपैयाँ लिई मास्क उपलब्ध गराउन सक्ने छन् । मास्क नलगाउनेलाई भने कार्यालय वा पसलमा प्रवेश दिइने छैन ।