काठमाडौं महानगरले खुलामञ्चमा ‘ट्रिपल बेसमेन्ट’ पार्किङ बनाउने

काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा नं. २८ स्थित खुल्लामञ्चमा ट्रिपल बेसमेन्ट पार्किङ बनाउने भएको छ । मंगलबार महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा राष्ट्रिय सभा गृहमा बसेको १० औं कार्यपालिका बैठकले यस्तो निर्णण गरेको हो ।

महानगरले नगर विकास कोषको प्राविधिक सहयोगमा ट्रिपल बेसमेन्ट पार्किङ निर्माण अघि बढाउने निर्णय गरेको हो । साथै, बैठकले पार्किङ निर्माणका लागि तत्कालै विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) बनाउने निर्णय गरेको छ।

अहिले भइरहेको पार्किङ समस्यालाई मध्येनजर गर्दै महानगरले पार्किङ बनाउने योजना अघि बढाएको हो । यसअघि महानगरले पार्किङलाई सहज बनाउन पार्किङका लागि बनाएर अन्य प्रयोजनमा प्रयोग गरिएका संरचनाहरु खाली गराएको थियो ।

यस्तै, कार्यपालिका बैठकले खुलामञ्चमा पानी पुनःभरण पीटको विस्तृत अध्ययन गर्ने, काठमाडौं उपत्यका सार्वजनिक यातायात प्राधिकरण ऐन कार्यान्वयन गर्न कार्यविधि बनाउने, महिला स्वास्थ्य स्वयंमसेविका सम्बन्धी कार्यविधि बनाउनेलगायत निर्णय गरेको छ। यस्तै सामाजिक विकास विभागअन्तर्गत विकास सहायता कार्यविधिले तोकेका काम गर्न आवश्यक पर्ने सामग्रीसहित ४२ शीर्षकका दररेट स्वीकृत गरेको छ।