‘काबुल विमानस्थलमा जोखिम छ, सकेसम्म नजानु’

Reuters

काबुल । अमेरिका र बेलायतले काबुल विमानस्थलमा आक्रमणको उच्च जोखिम रहेको भन्दै सकेसम्म त्यहाँ नजान आफ्ना नागरिकलाई सचेत गराएका छन् । विमानस्थल पुगिसकेकाहरूलाई तत्काल त्यहाँबाट फर्कन समेत भनिएको बीबीसीले लेखेको छ । दुवै राष्ट्रले बुधवार अबेर त्यस्तो सूचना जारी गरेका हुन्। काबुल विमानस्थल हुँदै बाहिरिनका लागि विमानस्थल बाहिर र भित्र हजारौँ सर्वसाधारण प्रतीक्षारत छन्।

१० दिन अघि तालिबानले नियन्त्रणमा लिएको काबुलबाट ८२,००० भन्दा बढीलाई हवाई मार्ग हुँदै अन्यत्रै लगिएको छ र राष्ट्रहरू अगस्ट ३१ भित्र मानिसहरूको उद्धार सम्पन्न गरिसक्ने गरि जुटेका छन् । तालिबानले त्यो समयसीमा लम्ब्याउने विषयको विरोध गरेको छ तर अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनका अनुसार अगस्ट ३१ पछि पनि अफगान नागरिक र विदेशीहरूलाई देश छोड्न दिने उसले बाचा गरेको छ। अफगानिस्तानमा अतिवादी समूहले पार्न सक्ने खतराबारे अमेरिकी राष्ट्रपति जो बाइडेनले मंगलबार मात्र चर्चा गरेका थिए ।

सँगै बेलायत र अमेरिकाको चेतावनी सार्वजनिक भएको हो । आक्रमणको जोखिम रहेकाले जतिसक्दो चाँडो हवाई उद्धार हुनु राम्रो रहेको बाइडेनको भनाई छ । भिडभाडयुक्त विमानस्थलमा खटेका सैन्य कमान्डरहरू आत्मघाती विस्फोटनको सम्भावनाका कारण चिन्तित रहेको समेत समाचारमा उल्लेख छ । उता, तालिबानले समेत विमानस्थल नजान अफगानी नागरिकलाई चेतावनी दिएको छ ।