काठमाडौं । तालिबानको कब्जामा आएको अफगानिस्तानस्थित अन्तर्राष्ट्रिय विमानस्थल भने अहिले अमेरिकाको नियन्त्रणमा छ । यहाँ हजारौं सैनिक खटिएका छन् । उता, अमेरिकामाथि यो विमानस्थल तत्काल नछाड्न अन्तर्राष्ट्रिय दवाव आएको छ । बीबीसीका अनुसार अमेरिकी अधिकारीले राष्ट्रपति जो बाइडेनले अगष्ट महिनाको अन्त्यपछि पनि अफगानिस्तानमा सैनिक उपस्थिति कायम राख्ने या नराख्ने विषयमा २४ घण्टाभित्र निर्णय लिन सक्ने बताएका छन् ।
राष्ट्रपति बाइडनलाई उनका साझेदारहरूले थप मानवीय उद्धार जारी राख्नु पर्ने भएकाले काबुल विमानस्थलबाट फौज फिर्ता नगर्न दबाब दिएका हुन् । मङ्गलवार हुने भर्चुअल जीसेभेनको शीर्ष बैठकमा उक्त विषय प्रमुख मुद्दा हुने भएको छ ।
तालिबानहरूले अर्को हप्ताभन्दा पछिसम्म अमेरिका बस्न खोजे त्यसको परिणाम राम्रो नहुने चेतावनी दिएका छन् । पछिल्लो २४ घण्टामा यो विमानस्थलबाट १६ हजार मानिसको उद्धार भएको छ ।
स्थल सीमाबाट आवतजावत सहज बनाउन अफगानिस्तानका छिमेकीहरूसँग पनि कुराकानी भइरहेको बताइएको छ । यसअघि आफ्ना साझेदारहरूबाट उद्धारको समयसीमालाई अगष्ट ३१ बाट बढाउन माग गरिएको भएपनि अमेरिकाले तालिबानको नियन्त्रणमा रहेको अफगानिस्तानबाट उद्धार कार्य तोकिएकै समयमा सम्पन्न गर्ने बताउँदै आएको छ ।
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले आफू अझै पनि उक्त समयसीमा परिवर्तनको पक्षमा नरहेको बताइरहेको छ। यूके, फ्रान्स र जर्मनीले जी सेभेनको बैठकमा त्यसो नगर्न दबाब बढाउने रणनीति बनाएका हुन् । तालिबानले समयसीमा बढाउनुले सहमतिको उल्लङ्घन हुने भन्दै चेतावनी दिएको छ ।