कार्यविधि खारेज नगर्न एक अर्बको प्रलोभन आएको वन मन्त्री प्रेम आलेको खुलासा

काठमाडौ । वन तथा वातावरण मन्त्री प्रेम आले मगरले आफुलाई एक अर्ब रुपैयाको प्रलोभन आएको खुलासा गरेका छन् ।

मंगलबार काठमाडौंमा आयोजित सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको आठौं राष्ट्रिय परिषद्को उद्घाटन कार्यक्रममा मन्त्री आलेले आफुलाई बैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई खारेज नगर्नका लागि आर्थिक प्रलोभन देखाईएको खुलासा गरेका हुन् ।

सरकारले वैज्ञानिक बन व्यवस्थापन कार्यविधि २०७१ खारेज गरेको एक महिना पछि विभागिय मन्त्रीले सो कार्यविधि खारेज नगर्न आर्थिक प्रलोभन देखाईएको बताएका हुन् ।

मन्त्री आलेले आफु सार्वजनिक लेखा समितिको सदस्य रहेका बेला उपसमितिमा बसेर वैज्ञानिक बन कार्यक्रमको बारेमा अध्ययन गर्दा पनि जिल्ला बन अधिकृत, क्षेत्रिय निर्देशक, काठव्यवसायी कर्मचारी लगायतले विभिन्न किसिमका प्रलोभन देखाएको दाबी गरे ।।