कुलमानलाई प्राधिकरणमा सरकारले पुनर्नियुक्ति नदिएको प्रवक्ताको स्पष्टिकरण

काठमाडौं । सरकारले कुलमान घिसिङलाई नेपाल विद्यूत प्राधिकरणको प्रवन्ध निर्देशकमा पुनर्नियुक्ति नदिएको स्पष्ट पारेको छ । सरकारका प्रवक्तासमेत रहेका अर्थ तथा सञ्चार मन्त्री युवराज खतिवडाले नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशकमा कुलमान घिसिङलाई पुनः नियुक्तबारे मन्त्रिपरिषदमा छलफल नै नभएको स्पष्ट पारे । यसअघि बुधबार सामाजिक संजाल र केही अनलाइनमा उनको नियुक्ति भएको भन्दै खबर भाइरल भएको थियो ।

बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलना सोहीबारे स्पष्ट पार्न पत्रकारले सोधेको प्रश्नमा अर्थमन्त्री खतिवडाले उनलाई सामाजिक संजालले मात्र नियुक्ति दिएको प्रतिक्रिया दिए । घिसिङको कार्यकाल भदौ मसान्तमा समाप्त हुँदैछ । सरकारका प्रवक्ता खतिवडाले कुनै औपचारिक प्रस्ताव नै मन्त्रिपरिषद्मा नपुगेको स्पष्ट पारे ।

‘उहाँलाई सामाजिक सञ्जालले नै नियुक्ति दिएको होला, सरकारले त दिएको छैन,’ मन्त्री खतिवडाले भने, ‘सामाजिक सञ्जालले दिएको नियुक्ति सरकारलाई थाहा हुने कुरा भएन। तर औपचारिक प्रस्ताव पनि छैन। छलफल पनि केही भएको होइन।’ कुलमानको पुनर्नियुक्ति बारे आएका सूचना, लेखाइ र बोलाइमा कुनै सत्यता नभएको उनको भनाई छ ।