न्यूयोर्क
कोरोना भाइरसको त्रासबीच मंगलबार सम्पन्न तीन अमेरिकी राज्यको डेमोक्रेटिक राष्ट्रपतिय प्राइमरी निर्वाचनमा पूर्व उपराष्ट्रपति जो बाइडेनले सानदार जित हासिल गरेका छन् । फ्लोरिडा, इलाइनोइस र एरिजोनामा सम्पन्न निर्वाचनमा सिनेटर बर्नी स्यान्डर्सलाई ठूलो मतान्तरले बाइडेनले पराजित गरेका हुन् ।
यससँगै बाइडेनले आउँदो नोभेम्बरमा हुने राष्ट्रपतिय निर्वाचनमा दलको टिकट हत्याउने निश्चित प्रायः भएको छ । स्यान्डर्स गणितिय रुपमा नै असम्भव विन्दुमा पुगि सकेका छन् । कोरोना भाइसरको प्रकोप चर्किँदै जाँदा डेमोक्रेटिक मतदाता राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति थप क्रुद्ध बनेका छन् । ट्रम्पले सुरुमै सावधानी नअपनाउँदाको परिणाम स्वरुप भाइसरले यो स्तरमा फैलिन पाएको उनीहरुको बुझाइ छ । त्यसैले मंगलबारको निर्वाचनमा सामेल ७० प्रतिशत डेमोक्रेटिक मतदाताले संकट जुध्न सक्ने बाइडेनको अनुभव र क्षमताका कारण उनलाई रोजेको बताएका छन् ।
उत्साहजनक मतदान भइ रहेको डेमोक्रेटिक प्राइमरीमा मंगलबार भने कोरोना प्रकोपकै कारण त्यसो हुन सकेन ।घरैबाट हुलाक मार्फत भोट खसाउन पाइने फ्लोरिडा र एरिजोनामा २०१६ भन्दा धेरै मत खसे पनि बुथमै पुगेर मत हाल्नु पर्ने इलाइनोइसमा भने त्यस अनुरुप मतदान भएन । फ्लोरिडामा बाइडेनले ६० प्रतिशत बढि मत पाएका छन् भने इलाइनोइसमा पनि झन्डै ६० प्रतिशत भोट पाएका छन् । एरिजोनामा ठूलो संख्याका मतदाताले यस अघि ड्रप आउट भएका उम्मेद्वारलाई समेत भोट दिएर हुलाकबाट पठाएको कारण ७० प्रतिशत हाराहारी गणना हुँदा बाइडेनले ४३ प्रतिशत मत पाएका छन् । स्यान्डर्सले ३० प्रतिशत पनि पाउन सकेका छैनन् । एरिजोनामा ६७, फ्लोरिडामा २१९ र इलाइनोइसमा १५५ जना डेमोक्रेटिक डेलिगेट्स रहेका छन् ।
मंगलबार मध्यरातसम्मको अपडेट अनुसार बाइडेनले एक हजार १४७ डेलिगेट्स पाइ सकेका छन् भने स्यान्डर्ससँग ८६१ जना मात्र छन् । आजको सबै भोट गनिसक्दा डेलिगेट्स अन्तर ३०० सय नाघ्न सक्नेछ । पार्टीको तर्फबाट राष्ट्रपतिको टिकट पाउन एक हजार ९९१ जना डेलिगेट्स आवश्यक पर्छ । त्यसका लागि अब प्राइमरी निर्वाचन हुन बाँकी राज्यमा बाइडेनले ४७ प्रतिशत डेलिगेट्स हत्याए पुग्छ भने स्यान्डर्सले ६३ प्रतिशत जित्नु पर्ने हुन्छ । प्राइमरी हुन बाँकी कुनै पनि राज्यमा स्यान्डर्सको त्यस्तो प्रभावशाली अग्रता नदेखिएको कारण अब उनलाई त्यति डेलिगेट्स पुर्याउन सम्भव छैन ।
मंगलबारको निर्वाचन परिणाम पछि मतदाताहरुलाई सम्बोधन गर्दै बाइडेनले सबैलाई समेटेर देशलाई एकढिक्का बनाउने बताएका छन् । आफुले स्यान्डर्सका युवा मतदाताको आवाज पनि सुन्ने भन्दै संकट समाधानका लागि एक भएर अघि बढ्न सिंगो पार्टी पंक्तीलाई आह्वान गरे । स्यान्डर्सले भने निर्वाचन परिणाम पछि कुनै सन्देश प्रवाह गरेका छैनन् । मंगलबार ओहायोमा पनि प्राइमरी निर्वाचन तय भएको थियो । तर, कोरोना भाइरस फैलन सक्ने त्रासका कारण बुथमा उपस्थित भएर भोट खसाउने अवस्था नरहेको भन्दै गभर्नर माइक डेवाइले अन्तिम समयमा जुन दुई तारिखसम्म निर्वाचन सार्ने निर्णय लिएका थिए ।