काठमाडौं । सरकारले कोरोनाबाट प्रभावित अर्थतन्त्र पुनरुत्थान गर्न एक साताभित्रै विशेष राहत प्याकेज ल्याउने भएको छ । मंगलबार राती बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । ओली सरकारले कोरोना महामारी र अर्थतन्त्रमा परेको प्रभावलाई पूर्ण वेवास्ता गरेको थियो । देउवा नेतृत्वको सरकारले भने यसमा मल्हम लगाउने निर्णय गरेको हो ।
सरकारले ओली सरकारको पालामा कोरोना महामारीका नाममा भएको खर्चको विवरण समेत एक साता भित्रै सार्वजनिक गर्ने भएको छ । यसबीचमा विकास निर्माणको कामलाई तीव्रता दिने, आर्थिक स्रोतको अभाव हुन नदिने, राष्ट्रिय हितलाई सर्वोपरी राखी छिमेकी मित्रराष्ट्र लगायत सबै मित्रराष्ट्र र अन्तर्राष्ट्रिय संघ संस्थाहरूसँगको सम्बन्ध र सहकार्यलाई थप सदृढ बनाउँदै जाने निर्णय समेत गरेको छ ।
परिवर्तित सन्दर्भमा मन्त्रिपरिषद् तथा यसका विभिन्न समितिमा प्रक्रियामा रहेका सम्पूर्ण प्रस्ताव समेत अब सम्बन्धित मन्त्रालयमा फिर्ता जाने छन् ।