कोरोना बीमाको पौने २ अर्ब दाबी भुक्तानी दिइँदै, पहिला आवेदन दिनेलाई प्राथमिकता

काठमाडौं । बीमा समितिले पौने २ अर्ब कोरोना बीमाको दाबी भुक्तानी गर्ने भएको छ । सरकारले निकासा गरेको १ अर्ब रुपैयाँमा बीमा समिति, बीमा कम्पनी र पुनर्बीमा कम्पनीले ८१ करोड रुपैयाँ थपेर १ अर्ब ८१ करोड रुपैयाँ भुक्तानी गर्न लागिएको हो ।

सरकारले गत भदौमा १२ अर्ब ३२ करोड रुपैयाँ कोरोना बीमाको दाबी भुक्तानीको दायित्व स्वीकारेको थियो । जसअनुसार पहिलो चरणमा १ अर्ब रुपैयाँ निकासा गरेको छ ।

समितिले सो रकम बीमा कम्पनीहरु मार्फत पहिले दाबी परेकाहरूको प्राथमिकताका आधारमा भुक्तानी गर्ने जनाएको छ । कोरोना बीमा १७ लाख ५८ हजार ३४३ जनाले गरेकोमा १ लाख ६५ हजार ५९ बीमितको १५ अर्ब ८२ करोड २१ लाख ७१ हजार ५५४ रूपैयाँ बराबरको दाबी परेको थियो ।

जसमध्ये बीमा कम्पनी, पुनर्बीमा कम्पनी र बीमा समितिले ३ अर्ब ५० करोड दाबी भुक्तानी गरिसकेका छन् । कोभीडको समयमा बीमा गर्न सरकारले बनाइएको मापदण्ड अनुसार सरकारले तिर्नुपर्ने १२ अर्बभन्दा बढी दायित्व बाँकी छ । जसमध्ये १ अर्ब रकम निकासा गरेपछि ११ अर्ब रुपैयाँ अझै बाँकी रहन्छ ।

डेढ वर्षदेख कारोना बीमा दाबी भुक्तानी गर्ने बिमीतले हालसम्म रकम पाएका छैनन् । सरकारले भुक्तानी दिने बताएपनि स्रोत सुनिश्चित गरेको थिएन् । २०७७ जेठमा बीमा कम्पनी,समिति र सरकारबीच कोरोना बीमाको दाबी भुक्तानी सबैले बेहोर्ने सहमति भएको थियो ।

उक्त मापदण्ड अनुसार १ अर्ब रुपैयाँसम्मको दाबी बीमा कम्पनीहरू, १ अर्बदेखि २ अर्ब रुपैयाँसम्मको नेपाल पुनर्बीमा कम्पनी, २ अर्बदेखि साढे २ अर्ब रुपैयाँसम्मको बीमा कम्पनीहरूको महाविपत्ति कोषबाट दाबी भुक्तानी बेर्होनु पर्ने थियो ।

साढे २ अर्बदेखि साढे ३ अर्ब रुपैयाँसम्मको दाबी भुक्तानी बीमा समिति र साढे ३ अर्ब रुपैयाँ भन्दा माथिको दाबी भुक्तानी सरकारले बेहोर्ने सहमति भएको थियो  ।

कम्पनीहरुले आफूले बेहोर्नुपर्ने दायित्व भुक्तानी गरिसकेका छन् भने सरकारले रकम नदिएपछि गत चैतदेखि बाँकी रहेको दाबी भुक्तानी दिन समेत बन्द गरेका छन् ।

बाँकी रहेको रकम भुक्तानीका लागि १ लाख १३ हजार ३९० वटा दाबी परेको छ । कोभीड अवधिमा २० वटा निर्जीवन बीमा कम्पनीले १७ लाख ५८ हजार ३४३ बीमा लेख जारी गरेर १ अर्ब ५ करोड २७ लाख रूपैयाँ बीमाशुल्क संकलन गरेका थिए ।