कोरोना भाइरसप्रति ट्रम्प वेवास्ताको परिणाम- अन्ततः आफैं संक्रमित

प्रभात भट्टराई/अमेरिका

अमेरिकामा कोरोना भाइरस संक्रमण चर्किएको सात महिना पछि अन्ततः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दम्पतिलाई यो भाइरसले समातेको छ । बिहीबार राती ट्रम्पले ट्विट गर्दै आफु र श्रीमती मलेनियालाई भाइरस ‘पोजेटिभ’ देखिएर क्वारेन्टाइनमा बसेको जानकारी दिएका हुन् ।

भाइरसबारे सुरु देखिनै ट्रम्पले कमजोर व्याख्या गर्दै आएका थिए । अमेरिकामा भाइरसले कुनै असर नपुर्याउने एवं कोही पनि संक्रमित भित्रिन नदिएको जस्ता दावी उनले झन्डै तीन महिना दोहोर्याए । अमेरिकामा भाइरसको पहिलो संक्रमण जनवरी २० मा देखिएको थियो । त्यसको दुई महिनासम्म ट्रम्पले भाइरसको सम्भाव्य जोखिमसँग जुध्न त टेष्टिङ प्रणाली मजबुत पारे न त अरु जनस्वास्थ्य सरोकारमा नै ध्यान दिए ।

जनवरी अन्त्यमा चीनबाट अमेरिकामा यात्रा निषेध गरे पनि प्रभावकारी ढंगले कार्यान्वयन गराउन सकेनन् । उनले यात्रा निषेध गरेपवछि समेत हजारौँ व्यक्ति चीनबाट अमेरिकि भित्रिएका थिए । साथै अमेरिकाभन्दा चाँढो संक्रमण फैलिएको युरोपबाट पनि लगातार आवागमन भइ रह्यो । त्यसरि एकै पटक मार्च तेस्रो साता पछि अमेरिकामा संक्रमितको संख्या चुलिन पुग्यो ।

मार्च तेस्रो साता सामाजीक दूरी सम्बन्धि नीति सार्वजनिक गरेका ट्रम्पले सधैँ जसो भाइरस आफैँ हराएर जाने जस्ता दावी गरि रहे । उनले फेब्रुअरी पहिलो साता नै भाइरस स्वासप्रवासबाट सर्न सक्ने जानकारी पाएको गत महिना सार्वजनिक भयो । वासिंटन पोष्टका पत्रकार बब उडवडसँग उनले त्यसो भनेको अडियो गत महिना सार्वजनिक भएको हो । तर, त्यस्तो सूचना पाएपनि ट्रम्पले सार्वजनिक रुपले जनतालाई सचेत गराउने काम भने कहिल्यै गरेनन् । आफुले गजब काम गरेको र भाइरस नियन्त्रणमा रहेको दावी गरि रहे । अमेरिकामा दैनिक एक हजार बढिको मृत्यु हुन थालेपछि आफुले प्रभावकारी कदम चालेको परिमाणस्वरुप मृत्युदर कम रहेको बताए ।

भाइरस संक्रमणको जोखिमबारे जनस्वास्थ्य विज्ञहरुको सुझावलाई कहिल्यै गम्भिर रुपमा लिएनन् । जनस्वास्थ्य विज्ञहरुलाई चुनौती दिँदै मलेरियाको औषधी हाइड्रोक्सिक्लोरिक्लिनले भाइरस उपचार गर्ने दावी गरे । शरिर भित्र  ‘ब्लिज’ लगायत सफाइ सामग्री पठाए भाइरस छिटो निको हुने समेत बताए । उनकै प्रशासनका विज्ञहरुले मास्क लगाउनु र सामाजीक दूरी कायम गर्नु नै संक्रमणबाट बच्ने सबैभन्दा बलियो उपाय रहेको बताए पनि उनले टेरेनन् । बिना मास्क र सामाजीक दूरी हजारौँ समर्थक भेला गरेर चुनावी सभाहरु आयोजना गरि रहे । जहाँ पनि मास्क लगाएको भन्दै प्रतिद्वन्दी जो बाइडेनलाई उल्टो उडाए ।

एक पछि अर्को वेवस्ताको नजिता स्वरुप अमेरिका भाइरस संक्रमण र मृतकको संख्यामा एक नम्बर मात्र बनेन अन्ततः राष्ट्रपति ट्रम्प आफैं संक्रमित बन्न पुगे । भाइरसलाई ट्रम्पजस्तै गम्भिरता पूर्वक नलिने ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोलाई पनि यसअघि संक्रमण देखिएको थियो । उनलाई रोगले धेरै नच्यापी निको भएका छन् । भाइसरबाट बच्न ट्रम्पकै सुझावलाई स्वीकारेर हाइड्रोक्सिक्लोरिक्लिन खाइ रहँदा उनलाई संक्रमण देखिएको थियो । ट्रम्पले पनि गत महिना भाइरसबाट बच्न हाइड्रोक्सिक्लोरिक्लिन खाने गरेको दावी गरेका थिए । तर, त्यसले उनलाई संक्रमणबाट बचाएन । अहिले पनि उनी हाइड्रोक्सिक्लोरिक्लिन खाँदै छन् कि छैनन् भन्ने बारे केही बताउन ह्वाइट हाउसले मानेको छैन ।

ह्वाइट हाउस भित्रै संक्रमण छिरि सकेको पुष्टि हुँदा पनि ट्रम्प प्रशासनले भाइरसप्रति गैर जिम्मेवारीपन देखाउन छोडेको थिएन । बुधबार बेलुका नै ट्रम्प निकट ह्वाइट हाउस कर्मचारी होप हिक्सलाई भाइरस लागेको पुष्टिभएपछि आफु जँचाउनुको सट्टा ट्रम्प बिहीबार चुनावी चन्दा संकलनका लागि न्यूजर्सी उडेका थिए । त्यहाँ उनले १०० जना हाराहारी समर्थक एवं चन्दादातालाई बिना मास्क सम्बोधन गरे । हिक्सलाई भाइरस लागेको जानकारी ह्वाइट हाउसले विहीबार दिनभर लुकायो । एकैपटक साँझ ब्लुमबर्गले समाचार ब्रेक गरेपछि मात्र ह्वाइट हाउसले स्वीकारेको थियो । त्यसपछि बल्ल ट्रम्पले हिक्सलाई भाइरस लागेको एवं आफु र मलेनिया पनि नतिजा पर्खि रहेको बताए । अघिल्लो शुक्रबार ट्रम्पलाई भेटेकी रिपब्लिकन नेशनल कमिटी चेयर उमन रोन्ना म्याकडेनियललाई पनि बुधबारै भाइरस संक्रमण देखिए पनि आज बिहानसम्म सूचना लुकाइएको थियो ।

मंगलबार सम्पन्न राष्ट्रपतिय बहसमा सहभागी ट्रम्प परिवारका कसैले पनि मास्क लगाएका थिएनन् । डेमोक्रेटिक प्रत्याशी जो बाइडेन पत्नी जील बाइडेन लगायत डेमोक्रेटिक प्रतिनिधीहरु हलमा मास्क लगाएर बसेका थिए । बहसमा समेत नियमित मास्क लगाएको प्रति ट्रम्पले बाइडेनलाई गिज्याएका थिए । ट्रम्पलाई भाइरस देखिएको खवरपछि शुक्रबार बिहान बाइडेनलाई जाँच गर्दा नतिजा ‘नेगेटेभि’ आएको उनको क्याम्पेनले जनाएको छ ।

ह्वाइट हाउसले ट्रम्पलाई ‘माइलड सिमटम’ देखिएको जनाएको छ । नियमित ट्विटर चलाउने ट्रम्पले मध्यराती आफुलाई भाइरस लागेको जानकारी पछि कुनै ट्विट गरेका छैनन् । ७४ बर्ष पुगि सकेका र धेरै तौल भएका ट्रम्प भाइरस संक्रमण र प्रभावका दृष्टिले जोखिमपुर्ण बर्गमा पर्छन् । ट्रम्पलाई भाइरस देखिएपछि जाँच गर्दा उपराष्ट्रपति माइक पेन्स दम्पतिमा भने ‘नेगेटिभ’ नतिजा आएको जनाइएको छ ।