कोरोना रोकथाममा १० अर्ब रुपैयाँ कहाँ खर्च भयो ?

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा खर्च गरेको १० अर्ब रुपैयाँको हिसाव सार्वजनिक गर्न माग गर्दै अहिले सडकमा आन्दोलन चलिरहेको छ । उनीहरुको एक माग १० अर्ब के मा खर्च भयो भन्ने रहेको छ । अर्थ मन्त्रालयले उपलब्ध गराएको विवरणअनसार ठूलो रकम स्वास्थ्य मन्त्रालयमार्फत विभिन्न उपकरण खरीद, स्वास्थ्य सामग्री र चिकित्सकको व्यवस्थापनका लागि भएको छ ।

कोरोना परीक्षण प्रयोगशाला, आइसोलेसन स्थापना, कोरोना अस्पताल तथा क्वारेन्टाइन निर्माण, औषधि तथा स्वास्थ्य सामग्रीको खरिदमा यो रकम खर्च भएको मन्त्रालयको भनाई छ । नेपालमा गुणस्तरीय र व्यवस्थित प्रयोगशाला निर्माण गर्ने भन्दै यस अवधिमा देशभर २० भन्दा बढी प्रयोगशाला स्थापना भएका छन् । त्यहाँबाट दैनिक हजारौं नमुनाको परिक्षण गर्न सम्भव भएको छ ।

भारतलगायत विभिन्न देशबाट आएका एक लाख ५८ हजार ५० जना नेपाली अहिले क्वारेन्टाइनमा रहेको समेत मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयको आंकडा अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत स्वास्थ्य पूर्वाधार निर्माणमा ९८ करोड ५० हजार रुपियाँ खर्च भएको छ। औषधि र स्वास्थ्य सामग्री खरिदमा एक अर्ब ४९ करोड ७५ लाख ५० हजार खर्च भएको तथ्यांक छ ।

क्वारेन्टाइन व्यवस्थापनमा चार करोड १९ लाख ९८ हजार र अन्य विविध खर्चका रूपमा १३ करोड चार लाख ३१ हजार रुपियाँ खर्च भएको विवरणमा उल्लेख गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा दुई अर्ब ७१ करोड २९ लाख ४७ हजार रुपियाँ निकासा भएको छ । त्यसमध्ये एक अर्ब ५८ करोड ५२ लाख ८३ हजार रुपियाँ खर्च भइसकेको छ ।

रक्षा मन्त्रालयमा दुई अर्ब ३८ करोड ५९ लाख २७ हजार निकासा भएको थियो । त्यसमा दुई अर्ब ४० करोड २४ लाख ५७ हजार रुपियाँ खर्च भएको मन्त्रालयको विवरणमा उल्लेख छ । रक्षामा गएको रकममध्ये दुई अर्ब ३६ करोड ९५ लाख २७ हजार रुपियाँ औषधि तथा स्वास्थ्य सामग्री खरिदमा खर्च भएको हो ।

क्वारेन्टाइन निर्माणमा एक करोड २९ लाख रुपियाँ र विविध अन्य ३५ लाख रुपियाँ खर्च भएको छ । अर्थको विवरण अनुसार गृह मन्त्रालयमार्फत दुई करोड ४५ लाख ८८ हजार रुपियाँ खर्च भएको छ । परराष्ट्र मन्त्रालयमा ६५ लाख निकासा भएको पाइएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा ६ करोड निकासा भएको थियो । जसमा ५ करोड २० लाख रुपियाँ खर्च भएको छ। सहरी विकास मन्त्रालयमा एक करोड ४२ लाख, प्रदेशका सामाजिक विकास मन्त्रालयमा १५ करोड ७५ लाख रुपियाँ खर्च भएको छ ।

सहरी विकास मन्त्रालयको बजेट क्वारेन्टाइन निर्माणमा खर्च भएको हो । प्रदेश सामाजिक विकास मन्त्रालयमार्फत स्वास्थ्य पूर्वाधार निर्माणमा १४ करोड र औषधि तथा स्वास्थ्य सामग्री खरिदमा एक करोड ७५ लाख रुपियाँ खर्च भएको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत प्रविधि विकास र वैकल्पिक सिकाइका लागि २६ करोड ७५ लाख ७८ हजार निकासा भएकोमा दुई करोड ६९ लाख ७८ हजार रुपियाँ खर्च भएको छ ।