काठमाडौं । हङ्कङको ध्वजाबाहक वायुसेवा कम्पनी क्याथे प्यासिफिक एयरवेजले आगामी असोज दोस्रो सातादेखि हङ्कङ–काठमाडौं–हङ्कङ उडान भर्ने भएको छ । एयरवेजले असोज १५, ९अक्टोबर (तारिख) देखि सातामा एउटा उडान भर्नेगरी नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिएको हो ।
प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार क्याथे एयरवेजले उडानका लागि सम्पूर्ण प्रक्रिया पूरा गरिसकेको र मात्रै स्लट मिलाउन बाँकी रहेको छ । एयरवेजले दिउँसोको समयमा स्लट मागेको छ ।
प्राधिकरणले रातिको समयमा स्लट व्यवस्थापन गर्न सकिने भएकाले अझै उडानको टुङ्गो लागि नसकेको प्रवक्ता निरौलाले बताए । क्याथे प्यासिफिक एयरवेजले साताको हरेक शनिबार हङ्कङ–काठमाडौं–हङ्कङ एउटा उडान भर्नेछ । क्याथे प्यासिफिक हङ्कङको ड्रयागन एयरलाइन्सअन्तर्गतकै एयरलाइन्स हो । कोभिड–१९ महामारीपूर्व ड्रयागन एयरलाइन्सले हङ्कङ–काठमाडौं गन्तव्यमा नियमति उडान भर्दै आएको थियो । हङ्कङको अन्तर्राष्ट्रिय क्षेत्रीय एयरलाइन्स क्याथे प्यासिफिक ड्रयागन एयरलाइन्स लिमिटेडअन्तर्गतकै विमान कम्पनी हो ।
क्याथे प्यासिफिक एयरवेज लिमिटेड हङ्कङको ध्वजाबाहक हो । यसको मुख्य कार्यालय र मुख्य केन्द्र हङ्कङ अन्तर्राष्ट्रिय विमानस्थलमा छ । अहिले काठमाडौं–हङ्कङ गन्तव्यमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले उडान गरिरहेको छ । नेपालीको बाहुल्यता रहेको हङ्कङ महत्वपूर्ण हवाई गन्तव्य मानिन्छ । काठमाडौंबाट हङ्कङ हुँदै अमेरिका, क्यानडा, युरोप, अस्ट्रेलिया, जापानलगायत गन्तव्यमा पुग्न उक्त उडानबाट सहज हुनेछ । हाल क्याथेले हङ्कङ–काठमाडौंमा चार्टर्ड उडान भर्दै आएको छ । क्याथेले एयरबस ‘३३०–३००’ सिरिजको विमानले उडान भर्ने जनाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो पटक गत असार १७ गते थाइल्याण्डको थाई स्माइल एयरवेज र सआर २२ देखि श्रीलङ्कन एयरलाइन्सले उडान भर्दै आएका छन् ।