काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी तथा नेटवर्क मार्केटिङबाट हुने कारोबारका कारण राज्य र समग्र अर्थव्यवस्थामै चुनौती थपिएको बताएको छ । क्रिप्टोकरेन्सी तथा नेटवर्क मार्केटिङ सम्बन्धमा सर्वसाधारणलाई जानकारी दिन मंगलबार एक सामग्री सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले यस्तो बताएको हो । खासगरि नेपालजस्ता सीमित पुँजी र स्वदेशी पुँजी विदेश लैजान बन्देज लगाइएका मुलुकमा क्रिप्टोकरेन्सीमार्फत पुँजी पलायन हुनबाट जोगाउनु मुख्य चुनौती रहेको राष्ट्र बैंकको निष्कर्ष छ ।
नेपालजस्तो वित्तीय साक्षरता कम भएका मुलुकमा वित्तीय सेवाका उपभोक्ताहरू असुरक्षित हुने बढी सम्भावना रहेको समेत केन्द्रिय बैंकले बताएको छ । नवीन प्रविधिको सहयोगमा क्रस बोर्डर रूपमा सञ्चालित नेटवर्क मार्केटिङ व्यवसायबाट अवैधानिक माध्यम वा हुण्डीमार्फत पैसा विदेसिने जोखिम रहेको समेत बताइएको छ । एकातिर स्वदेशबाटै पुँजी पलायन हुन सक्ने र अर्कोतिर विदेशमा रहेका नेपालीबाट नेपाल आउन सक्ने विप्रेषण विदेशमै लगानी हुन सक्ने भएकोले विदेशी मुद्राको सञ्चितिमा समेत नकारात्मक प्रभाव पर्न सक्ने राष्ट्र बैंकको भनाई छ ।
आईएमएफले २०२१ अक्टोबरमा जारी गरेको ग्लोबल फाइनान्सियल स्टाबिलिटी रिपोर्टमा समेत क्रिप्टोकरेन्सीलाई विश्वव्यापी वित्तीय स्थायित्वको तीन वटा प्रमुख चुनौतीमध्येको एक भनेर उल्लेख गरिएको राष्ट्र बैंकले स्मरण गराएको छ । राष्ट्र बैंकले क्रिप्टोकरेन्सी तथा यससँग सम्बन्धित कोषमा लगानी गर्ने तथा नेटवर्क मार्केटिङ आबद्ध हुने जस्ता क्रियाकलापमा युवा जनशक्ति आकर्षित हुन सक्ने भएकोले युवावस्थामै अवैधानिक आर्थिक क्रियाकलापमा संलग्न हुँदा व्यक्तिगत जीवन र मुलुकको आर्थिक सामाजिक व्यवस्थामा समेत नकारात्मक असर पर्ने भन्दै सचेत समेत गराएको छ ।