खुकुलो भएको निषेधाज्ञा आजबाट लागु

file

काठमाडौं । काठमाडौं उपत्यकामा आजबाट आगामी एक साता निषेधाज्ञा लम्बिएको छ । केही प्रावधानहरु खुकुलो बनाउँदै आजबाट एक साताका लागि निषेधाज्ञा लम्बाइएको हो । बिहान वा साँझमा पैदल हिँड्नेहरुलाई प्रहरीले अब दुखः दिने छैन । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले प्रावधान खुकुलो गरी असार ७ सम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो ।

आजदेखि खाद्यान्न, तरकारी, किराना पसल, फलफूल र पुस्तक पसल बिहान ११ बजेसम्म खुलै रहने छन् । विकास निर्माणमा आवश्यक पर्ने पसल (हार्डवेयर) अपरान्ह ४ बजेदेखि खुल्ने छन् । होटलले ‘टेक अवे’ सेवा दिने छन् । अनलाइन डेलिभरीका लागि होटललाई बिहान ७ बजेदेखि काम गर्न दिइने छ । विकास निर्माणका काम सूचारु हुनेछन् ।


वर्कसपहरू बिहानदेखि बेलुकीसम्मै खोल्न पाउने भएक छन् । अत्यावश्यक सेवाका लागि यातायातका साधन आफ्नो कार्यालयद्वारा जारी परिचय पत्र वा प्रमुख जिल्ला अधिकारीले जारी गरेको पासका आधारमा सञ्चालन गर्न दिइने भएको छ । एम्बुलेन्स, शव बाहनलगायत स्वास्थ्य सेवामा खटिने साधनले परिचय पत्र समेत देखाउनु पर्ने छैन ।


बैंक तथा वित्तीय संस्थाका लागि कर्मचरीको आवतजावतमा समेत प्रहरीले अवरोध गर्ने छैन । कृषिजन्य कामका लागि मल ढुवानी र बीऊ बिजनका पसल खुल्ने छन् ।
कूटनीतिक निकायबाट जारी हुने भिसा, परीक्षा र अन्तर्वार्ताका लागि आउजाउ गर्ने मानिस समेत निर्वाध हिड्न सक्ने छन् ।