काठमाडौं\एजेन्सी। अमेरिकाले यात्रामाथि लगाएको प्रतिवन्धहरुमा केही खुकुलो गरेको छ । अब कोरोना भाइरसविरुद्धको खोपको मात्रा पुरा गरेका व्यक्तिले अमेरिकामा जाँच वा बीना निगरानी नै स्वतन्त्र रुपमा यात्रा गर्न सक्ने भएका छन् ।
अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी)ले शुक्रबार यस निर्णयबारे जानकारी गराएको हो । खोपको साइकल पुरा गरेका व्यक्तिले हवाई‚ बस‚ रेलमार्गमा स्वतन्त्र रूपले यात्रा गर्न सक्ने बताइएको छ ।
अमेरिकामा कोरोना संक्रमण दर बढिरहे पनि खोप अभियानको काम समेत उत्तिकै रफ्तारमा बढिरहेको छ । सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड भने पालना गर्न भनेको छ ।
सिडिसीकी निर्देशक डा. रोचेल वालेन्स्कीका अनुसार नयाँ निर्देशनअनुसार पूर्ण खोप लगाएका वृद्धवृद्धाले अब कोभिड १९ को जाँच वा क्वारेन्टिन बीना नै आफ्ना सन्तानलाई भेट्न सक्ने भएका हुन् ।
पूर्ण खोप लगाएपछि संक्रमणको जोखिम कम हुने अपेक्षा छ । उता, सिडिसीको घोषणासँगै आगामी दिनका लागि हवाई यात्रा गर्न टिकट रिजर्भ गर्नेको संख्यामा ९० प्रतिशतसम्म वृद्धि देखिएको कम्पनीहरुलाई उदृत गर्दै समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।