काठमाडौं । दुई दिन अगाडी कांग्रेस र एमालेबीच गठबन्धन भत्काएर एमसीसी पास गराउने सहमति भएको थियो । तर, एमालेले आफ्ना माग पहिला पुरा हुनुपर्ने शर्त राखेपछि सहमति भाँडिएको थियो । त्यसपछि सत्तारुढ दलभित्रै सहमति जुटाउने प्रयास जारी छ । शनिबार अबेर सत्तारुढ दलका शीर्ष नेताबीच छलफल भएको छ । जहाँ गठबन्धन जोगाउँदै एमसीसी सम्झौता पास गराउने सहमति नजिक पुगेको बताइएको छ ।
एमसीसी सम्झौतामा रहेको अष्पष्ट बुँदामा व्याख्यात्मक घोषणा राखेर संसदबाट पारित गराउने प्रयास सत्तारुढ दलले गरेका छन् । यसले गठबन्धन तत्काल भत्कने छैन । माओवादी केन्द्र र एकीकृत समाजवादीका नेता समेत प्रश्न उठेका विषयमा संसदबाट व्याख्यात्मक घोषणा गर्न सहमत भएको बताइएको छ । यसले अमेरिकी सहयोग परियोजना एमसीसीको पक्षमा मतदान गर्न उनीहरुलाई सहज हुनेछ ।
एमसीसी सम्झौतासम्बन्धी प्रस्तावमा अर्को पूरक प्रस्ताव जोड्ने र त्यसले विवादित र अस्पष्ट प्रावधानको व्याख्या गर्नेछ । यस्तो प्रस्ताव कांग्रस महामन्त्री गगन थापाको हो । शनिबार कांग्रेस र एमाले बीच भएको छलफलमा सहमति नजुटेपछि सत्तारुढ दलमै सहमति खोजिएको हो । आजै पार्टीहरुले आफ्नो दलको बैठक राखी यसबारे निर्णय लिने छन् । संसद बैठक आजै बस्नेछ ।