गर्भपतनलाई कानुनी मान्यताको माग गर्दै अमेरिकाका ५० वटै राज्यमा महिलाको प्रदर्शन

एजेन्सी । अमेरिकाका ५० वटै राज्यमा गर्भपतनको माग गर्दै महिलाहरू प्रदर्शनमा उत्रिएका छन् । टेक्सस राज्यको नयाँ कानुनले गर्भपतनको सेवासम्म पहुँचमा कडाइ गरेको विरोधमा अमेरिकामा महिलाहरू प्रदर्शनमा उत्रिएका हुन् । प्रदर्शनमा उत्रिएका महिलाहरूले आफूहरूको संवैधानिक अधिकार खोसिने चिन्ता व्यक्त गरेका छन् ।

गर्भपतनलाई कानुनी मान्यतालगायतका नारा र सङ्केतहरू सहित प्रदर्शनकारीहरूले राजधानी वासिङ्टन डीसीमा रहेको सर्वोच्च अदालत अगाडि मार्च पास गरेका थिए ।

करिब दुई दर्जनको सङ्ख्यामा रहेका प्रदर्शन विरोधीहरूले र्याली सुरुमै अवरोध पुर्याउने प्रयास गरेका थिए । त्यो अवरोध प्रदर्शनकारीहरूको गीत र तालीमा ओझेल परेको वासिङ्टन पोस्ट पत्रिकाले उल्लेख गरेको छ ।

उक्त प्रदर्शनमा सहभागी एक महिलाले नारीको छनौट गर्न पाउने अधिकारका लागि आफू सहभागी भएको बताइन्। ‘यो देशैभरका मानिसहरूका लागि आयोजना गरिएको हो ।’ वीमन मार्चकी कार्यकारी निर्देशक राचेल ओलिरि कार्मोनाले भनिन् ।

गत सेप्टेम्बर १ मा टेक्ससका विधायकहरूले गर्भपतन विरुद्धका अभियानकर्मीले भन्दै आएको भ्रूणको मुटुको धड्कन सुरु हुन थालेपछि गर्भपतन गर्न नपाइने कानुन बनाएका थिए । तर महिलाहरूले त्यो समयसम्म महिलाहरूलाई आफू गर्भवती भए वा नभएको थाहा नै नहुने बताउँदै आएका छन्।