गिट्टी-ढुंगा निकासी गरि व्यापार घाटा कम गर्ने नीतिले आलोचनाको शिकार बन्यो सरकार

फाइल तस्वीर : हिउँदमा खोलामा वालुवा निकाल्दै

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा एक बुँदा समेटेको छ । जसमा नेपालको ढुंगा, गिटी विदेश निकासी गरि त्यसबाट व्यापार घाटा कम गर्ने नीति लिइएको छ । यसका लागि निकासी हुन विन्दुसम्म रोपवे निर्माण गर्न चाहने निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति समेत सरकारले लिएको छ । यो नीतिको व्यापक आलोचना शुरु भएको छ ।

आज नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवादेखि माओवादी अध्यक्ष प्रचण्डसम्मले यो नीति तत्काल खारेज गर्न माग गरेका छन् । सरकारले नेपालको प्राकृतिक सम्पदाको दोहन गरेर विदेश निकासी गर्ने सरकारको नीतिले उसको राष्ट्रवाद समेत उदांगो भएको नेताहरुको प्रतिक्रिया छ ।

एमाले नेता माधव कुमार नेपालले चुरे दोहन गरि मुलुकको आधा जनसंख्यालाई भुक्षय, भोकमरी र डुवानमा पार्ने योजनासहित सरकारले यस्तो नीति ल्याएको आरोप लगाएका छन् । उनले यो निर्णय तत्काल सच्याउन समेत सरकारको ध्यानाकर्षण गराएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपालको ढुंगा, गिट्टी र वालुवा निकासी गर्ने सरकारको नीति राष्ट्र र जनविरोधी भएको बताएका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले यो निर्णय राष्ट्रघाती भएको प्रतिक्रिया दिएका छन् ।

उता, अर्थ मन्त्रालयले आजै एक विज्ञप्ती निकाल्दै सरकार चुरेको संरक्षणमा गम्भीर रहेको भन्दै खानीबाट निकाल्ने ढुंगा, गिट्टी तथा वालुवामात्र निकासी हुने बताएको छ । यसका लागि वातावरणीय प्रभाव अध्ययन हुने भन्दै मन्त्रालयले नीतिको बचाउ समेत गरेको छ ।