गुल्मीको रेसुङ्गा विमानस्थलमा अब साताको तीन उडान हुने

काठमाडौं । गुल्मीको रेसुंगा स्थित विमानस्थलमा अब साताको तीन उडान हुने भएकोछ । अहिले नेपाल एयरलाइन्सले सातोको दुई उडान गर्दै आएको छ । आगामी सोमबार ृचैत ५ गते देखि हप्तामा तीन पटक उडान हुने भएको हो । यस विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले हप्तामा तीन पटक उडान भर्ने सहमति भएको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले बताए । कठोर मिहेनत र पटक(पटकको छलफल पश्चात् आगामी सोमबारदेखि हप्तामा तीन पटक उडान भर्ने भएको उनले उल्लेख गरेका छन् ।


निगमले आगामी सोमबारको टिकट खुला गरिसकेको छ । आम नागरिकले टिकटको अभावमा भोग्नु परेको दुख र समस्याको केही हदसम्म समाधान हुने भन्दै यात्रुको चाप हेरिसके पछि आवश्यकता अनुसार उडान थप गर्दै जाने विषयमा पनि छलफल प्रारम्भ गरिएको उनले बताए ।

रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमको ट्विनअटर जहाजले २०८० वैशाख २९ गतेदेखि नियमित उडान भर्ने गरेको छ । उडान हुने दिनमा मात्र प्रहरी पठाएर सुरक्षा दिने काम भइरहेको यस विमानस्थलमा सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरेर दीर्घकालीन रूपमा चौबीसै घण्टा विमानस्थलको सुरक्षा गर्नको लागि नेपाल प्रहरीको एक पोस्ट बस्ने भएको नगरप्रमुख पन्थीले बताए ।


रेसुङ्गा विमानस्थलका लागि काठमाडौँबाट बिहान ६ः३० बजे र यहाँबाट काठमाडौँका लागि बिहान ७ः४० बजे उडान गर्ने समय तालिका छ । काठमाडौँदेखि रेसुङ्गा विमानस्थलका लागि सात हजार २८० रुपियाँ र यहाँदेखि काठमाडौँका लागि सात हजार ८० रुपियाँ भाडा दर कायम गरिएको छ ।