काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो कार्यकाल सम्हाल्न लागेकै दिन ललितपुरको गोदावरीमा निर्माण भएको सम्मेलन केन्द्रको उद्घाटन गर्ने भएका छन् । आयोजनको निर्माण भइनसक्दै उद्घाटनमा दौडधुप गरेको आरोप खेपिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज बालुवाटारबाट भर्चुअल रुपमा सम्मेलन केन्द्र उदघाटन गर्ने भएका हुन् ।
प्रधानमन्त्री ओलीले बिहान ११ बजे सम्मेलन केन्द्र उदघाटन गर्ने कार्यक्रम रहेको छ । यो सम्मेलन केन्द्र ३ हजार सिट क्षमताको छ । ४३ रोपनी १५ आनामा बनेको यो सम्मेलन केन्द्रलाई ‘गोदावरी सनराइज’ नाम राखिएको छ । यो ८१ करोड रुपैयाँ लागतमा बनेको हो ।
नयाँ बानेश्वरस्थित सम्मेलन केन्द्र संसदले लिएपछि कठमाडौंमा स्तरीय सम्मेलन केन्द्रको अभाव थियो । अहिले संसद भवन सिंहदरवारमै बनिरहेको छ । सोहीकारण बानेश्वरका सम्मेलन केन्द्र समेत अब सार्वजनिक प्रयोगमा आउने भएको छ ।