काठमाडौं । भैरहवामा निर्माणाधिन राष्ट्रिय गौरवको विमानस्थल आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ ।
गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको भौतिकतर्फको ९० प्रतिशत काम पुरा भइसकेको नेपाल नागरिक उड्डयन प्राधिरकणले जनाएको छ ।
प्राधिकरणका अनुसार भौतिक संरचना निर्माणको काम सकिएसँगै व्यवस्थापनमा खटिने गरी विमानस्थल प्रमुख तोकिएको छ ।
प्राधिकरणका निर्देशक प्रतापबाबु तिवारीले अब भैरहवास्थित गौतमबुद्ध विमानस्थलको प्रमुखको जिम्मेवारी पाएका छन् । उनले विमानस्थल संचालनमा व्यवस्थापनको भूमिका निर्वाह गर्ने भएका छन् ।
यो विमानस्थलमा निकट भविश्यमै परीक्षण उडानको तयारी छ । यद्दपी सूचना प्रविधिसम्बन्धी धेरै उपकरण जडान गर्नुपर्ने काम बाँकि रहेको छ ।
अहिले परीक्षण उडान सम्म भएपनि नियमित उडानका लागि भने अझै धेरै समय लाग्नेछ । किनकी यो विमानस्थ्ल संचालनको मोडालिटी अझै स्पष्ट भएको छैन ।
कुन निकायबाट कसरी संचालन गर्ने भन्नेमा सरकार टुंगोमा पुगिसकेको छैन । त्यसपछि मात्र बजारिकरण गरी यहाँ जहाजहरुलाई आकर्षित गर्ने काम शुरु हुनेछ ।
यसैबीच, सरकारले गौतमबुद्ध विमानस्थलमा आउने जहाजका लागि प्याकेज घोषणाको तयारी गरेको छ ।
त्यस्ता प्याकेजको सूचि बनाएर प्राधिकरणले मन्त्रालयमा पठाएको र मन्त्रालयले स्वीकृतिका लागि अर्थमा पठाएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जानकारी दिए ।