काठमाडौं । ग्लोबल आईएमई नेपालको सबैभन्दा ठूलो वाणिज्य बैंक बनेको छ । शुक्रबार जनता बैंक र ग्लोबल आइएमई बैंकबीच मर्जर भई एकिकृत कारोबार प्रारम्भ भएसँगै ग्लोबल मुलुकको सबैभन्दा ठूलो वाणिज्य बैंक बन्न पुगेको हो ।
शुक्रबार अर्थमन्त्री डा. युवराज खतिवडा, गभर्नर चिरन्जीवी नेपाललगायतको उपस्थितिमा एकिकृत कारोबार प्रारम्भ गरेको छ ।
ग्लोबल आइएमई नेपालको २२ औं वाणिज्य बैंकका रुपमा १२ वर्षअघि स्थापना भएको हो ।
जनता बैंकसँग ‘बिग मर्जर’ सम्पन्न भई कारोबार भएपछि यस बैंकले कूल पुँजी, चुक्ता पुँजीलगायत बैंकका अधिकांश सूचकमा सबैभन्दा ठूलो बैंक बन्न पुगेको हो ।
दुई बैंकबीच मर्जर गर्ने सहमति भएको ५ महिना पछि शुक्रबारबाट एकिकृत कारोबार शुरु भएको हो ।
मर्जरपछि बनेको बैंकमा अध्यक्ष चन्द्र ढकाल रहेका छन् भने प्रमुख कार्यकारी अधिकृत जनता बैंकका सीईओ पर्शुराम कुँवर रहेका छन् ।
मर्जरपछि यस बैंकको चुक्तापुँजी १९ अर्ब रूपैयाँ भएको छ । साविकको ग्लोबल आईएमई बैंकको १० अर्ब ३१ करोड ५ लाख १६ हजार रुपैयाँ र जनता बैंकको ८ अर्ब ७ लाख ८५ हजार ८ सय रुपैयाँ जोड्दा उक्त परिमाणमा चुक्तापूँजी भएको हो ।
मर्जरपछिको ग्लोबल आइएमई बैंकको कूल निक्षेपको आकार अब २ खर्ब १० अर्ब पुगेको छ । कर्जा लगानी भने २ खर्ब पुगेको छ । शाखा कार्यालय ३ सय हाराहारी पुगेको छ ।
बैंकका २ सय ५६ स्थानमा एटिएम सेवा पुगेका छन् । २ सय ४१ शाखा रहित बैंकिङ्ग सेवा, ३३ एक्सटेन्सन कायम भएको शुक्रबार आयोजना गरिएको औपचारिक कार्यक्रममा जानकारी दिइयो ।
अब बैंकका कर्मचारीको कूल संख्या ३ हजार २ सय ५० कायम भएको छ । ग्राहक २० लाख भन्दा माथि भएको छ ।