घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । भाउ बढेपछि विद्यार्थी संगठनहरु संयुक्त आन्दोलनमा उत्रिएका थिए । त्यसपछि संगठन र निगमसँगको वार्तापछि मुल्य घटाइएको निगमले जनाएको छ । नेपाल विद्यार्थी संघ, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौं मूल्यवृद्धि विरुद्ध आन्दोलनको घोषणा गरेका थिए ।

निगम सञ्चालक समितिको निर्णय बमोजिम बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँ मूल्य घटाएको छ । अब पेट्रोल प्रतिलिटर १२८ र डिजेल तथा मटितेलको मूल्य १११ रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढिरहेको र सोको कारणले निगमको लागत बढी रहेकोले निगमको आर्थिक स्थिति उकास्न पेट्रोलियम पदार्थको मूल्यलाई समायोजन गर्दै लानुपर्ने बाध्यता रहेको समेत बताएको छ ।