चम्किँयो नेपाली सेयर बजार, नेप्से ६३.३८ अंकले बढ्दा ९ कम्पनीका लगानीकर्ता मालामाल

काठमाडौं । बीमा रमाइक्रोफाइनान्स कम्पनी चम्किँदा सेयर बजारमा उछाल आएको छ । गत बुधबारदेखि उकालो लागेको बजार यससाता पनि निरन्तरता दिएको हो ।

पछिल्लो ३ कारोबार दिनमै नेप्से करिब १४० अंकले बढेको छ । सूचकसँगै आज कारोबार रकम पनि २ अर्ब बढीले बढेको छ । गतसाता औसतमा करिब ४ अर्बको कारोबार हुँदै आएकोमा आज बढेर करिब ६ अर्ब रुपैयाँ पुगेको छ ।

आज सेयर बजार मापक सूचक नेप्से ६३.३८ अंकले बढेर २५३८.४६ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २०६ कम्पनीको ५ अर्ब ९१ करोड ९८ लाख २४ हजार ५६९ रुपैयाँ बराबरको १ करोड २४ लाख ३० हजार २ कित्ता सेयर किनबेच भएका छन् ।

मंगलबार कारोबारमा आएका १३ वटै समूहको परिसूचकमा हरियाली छाएको छ । जीवन बीमा समूह सबैभन्दा धेरै ७४२.७६ अंकले बढेको छ ।

कारोबारमा आएका २०६ कम्पनीमध्ये १५७ कम्पनीको सेयर मूल्य बढेको छ भने ३८ कम्पनीको मूल्यमा गिरावट आएको छ । ११ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज नेपाल बंगलादेश बैंकको सर्वाधिक कारोबार भएको छ । यसको सबैभन्दा धेरै ३९ करोड ९० लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा नेपाल लाइफ इन्स्योरेन्स ३१ करोड र नेपाल इन्फ्रास्ट्रक्चर बैंक २१ करोडको कारोबार सहित शीर्ष तीनमा रहे ।

उच्च अंकले बढेको बजारमा आज ९ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । स्वरोजगार लघुवित्त, मिथिला लघुवित्त र सूर्योदय लघुवित्तका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

यसैगरी, आज सामुदायिक, समिट, किसान, स्वाभिमान लघुवित्त, चन्द्रागिरी हिल्स र युनाइटेड इदीमार्दी हाइड्रोपावरको सेयर मूल्य पनि करिब १० प्रतिशतले बढेको छ ।

बढ्दो बजारमा आज ग्रीन लाइफ हाइड्रोपावरका सेयरधनीले सबैभन्दा धेरै ६.०६ प्रतिशत गुमाएका छन् ।