काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । केन्द्रीय तथ्यांक विभागले बिहीबार पत्रकार सम्मेलन गर्दै यस्तो अनुमान सार्वजनिक गरेको हो ।
यसअघि चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर अन्तर्राष्ट्रिय मुद्रा कोषले ४.१ प्रतिशत, एसियाली विकास बैंकले ३.९ प्रतिशत र विश्व बैंकले ३.७ प्रतिशत हासिल हुने प्रक्षेपण गरेका थिए ।
विभागका अनुसार चालु वर्ष सकिन ३ महिना बाँकी रहेको र सो अवधिमा अर्थतन्त्रमा ठूलो असर नआउने देखिएकाले उक्त अनुमान गरिएको हो ।
कृषि र खानीसहित प्राथमिक क्षेत्रको २.३ प्रतिशत, उद्योगको १०.३ प्रशित र सेवा क्षेत्रको आर्थिक वृद्धिदर ५.९ प्रतिशत हुने विभागको अनुमान छ ।
सरकारले चालु आवमा ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखे पनि विभागले सोभन्दा कम लक्ष्य प्राप्ति हुने अनुमान सार्वजनिक गरेको हो ।
सरकारले ७ प्रतिशतको लक्ष्य राखे पनि पूँजीगत खर्च हुन नसक्नु, कृषि उत्पादन घट्नु, बैंकहरुबाट प्रवाह भएको कर्जा उत्पादनमाभन्दा पनि व्यापारमा जानु लगायत काराणले लक्ष्य हासिन हुन नसकेको हो ।
अर्थतन्त्रको आकार साढे ४८ खर्ब
विभागका अनुसार नेपालको अर्थतन्त्रको आकार साढे ४८ खर्ब पुग्ने भएको छ । चालु वर्षमा नेपालको कुल ग्राहस्थ उत्पादन (जीडीपी) बजार मूल्यमा आधारमा ४८ खर्ब ५१ अर्ब ६३ करोड र उत्पादन मूल्यका आधारमा उत्पादन आधारभूत मूल्यमा ४१ खर्ब ५ अर्ब ५४ करोड पुग्ने विभागले जनाएको छ ।