जनकपुर । आज जनकपुर–जयनगर रेलको रेल्वे ट्र्याकको गति परीक्षण हुने भएकाले ट्र्याक नजिक नबस्न आह्वान गरिएको छ । प्रतिघण्टा १२० किलोमिटरको गतिमा रेलको परीक्षण हुने भएको छ । रेल व्यवसायिक रुपमा सञ्चालनको तयारी अन्तिम चरणमा छ । सोहीक्रममा रेल्वे ट्र्याकको गति परीक्षण र प्रमाणीकरण गर्न लागिएको नेपाल रेल्वे कम्पनीले जनाएको छ ।
कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले ट्र्याक नजिक नबस्न र परीक्षणमा सहयोग गर्न स्थानीयलाई आह्वान गरेका छन् । सो क्रममा कुनै क्षति भएमा व्यक्ति स्वयमः जिम्मेवार हुनपर्नेछ । आज परीक्षणका क्रममा रेल्वे लिकको ‘स्पिड’ र ‘सर्टिफिकेशन’को काम गरिनेछ । भारतको इस्ट–सेन्ट्रल रेल्वेको डिजल लोकोमोटिभ रेलले ‘ट्र्याक स्पिड’ परीक्षण गर्दैछ ।
यो रेलमा एक पटकमा एक हजार तीन सय मानिसले यात्रा गर्न सक्छन् । जनकपुर–जयनगर–कुर्थासम्म ३५ किलोमिटर दूरीमा रेल चल्ने छ । यो रेल महोत्तरीको बिजलपुरा हुँदै बर्दिबाससम्म बिस्तारको योजना छ ।
परीक्षणपछि रेल जयनगरबाट जनकपुर आउँदा–जाँदा रेल्वे ट्र्याकमा समस्या नभए जनकपुर–जयनगर रेल्वे ट्र्याक रेल सेवा सञ्चालनका लागि उपयुक्त र सुरक्षित भनी नेपाल रेल्वे कम्पनी लिमिटेडले प्रमाणपत्र पाउने छ । त्यसपछि रेल नियमित संचालनमा आउने छ । आज रेल्वे ट्र्याक वरपर व्यक्ति, पशु चौपाया, साइकल, मोटरसाइकल छाड्दा दूर्घटनाको जोखिम हुन्छ ।