काठमाडौं । नेपालमा पर्यटक आगमन बढ्न थालेको छ । संसारभर कोरोना भाइरसको महामारी विरुद्ध खोप अभियान चलिरहेका बेला जनवरीमा पर्यटक आगमन सम्बन्धी सकारात्मक तथ्यांक सार्वजनिक भएको छ । अध्यागमन विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार जनवरी २०२१ मा ८ हजार ८ सय ७४ जना पर्यटक नेपाल भित्रिए ।
यो संख्या गत वर्ष लकडाउन शुरु भएयताकै सबैभन्दा धेरै हो । यस अवधिमा ७ हजार २ सय ९२ जना पर्यटक नेपालबाट बाहिरिएको तथ्यांक छ । नेपाल आउने पर्यटकमा ठूलो संख्या भारतीय र चिनियाँ रहेको छ । तेस्रो स्थानमा अमेरिका छ ।
नेपाल र भारतबीच हवाई यातायात संचालनमा आएसँगै जनवरीमा पर्यटक आगमन समेत वृद्धि भएको छ । विभागको आंकडा अनुसार भारतबाट जनवरीमा मात्र ४ हजार २८ जना पर्यटक भित्रिएका छन् । यस अवधिमा ३ हजार ५ सय ११ जना भारतीय पर्यटक बाहिरिएका छन् ।
दोस्रो नम्बरमा रहेको चीनबाट यस अवधिमा १ हजार ८ सय ७७ जना पर्यटक नेपाल आए । तेस्रो स्थानमा अमेरिका रहेको छ । अमेरिकाबाट मात्र ८७४ जना पर्यटक नेपाल आएको तथ्यांक छ । बेलायतबाट १ सय ३६ जना पर्यटक नेपाल आए । एक महिनामा विभिन्न १ सय २१ मुलुकबाट पर्यटक नेपाल आएका छन् ।