जलविद्युत् कम्पनीको सेयरमा लगानीकर्ताको उच्च आकर्षण

काठमाडौं । जलविद्युत् कम्पनीको सेयरमा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ । बैंक तथा वित्तीय संस्थाहरुको नाफा तथा लाभांश वितरणमा राष्ट बैंकले कडाइ गरेपछि लगानीकर्ता हाइड्रोप्रति आकर्षित भएका हुन् ।

तुलनात्मक रुपमा हाइड्रोपावर कम्पनीहरुले पनि धमाधम आकर्षक वित्तीय विवरण सार्वजनिक गर्न थालेपछि लगानीकर्ता यसप्रति आकर्षित भएक हुन् । यस्तै,मौद्रिक नीतिमार्फत हाइड्रोपावरलाई प्रोत्साहन गर्ने नीति ल्याइने हल्लाले पनि बजार तताएको हो ।

पछिल्लो समय सर्वाधिका कारोबार हुनेमा हाइड्रोपावर कम्पनीहरु नै रहेका छन् भने धेरै सेयर मूल्य बढ्नेमा पनि हाइड्रो कम्पनी नै छ ।

आज सेयर बजार मापक सूचक नेप्सेमा झिनो अंकले बढेको छ । आज नेप्से ०.६६ अंकले बढेर ३१०८.१२ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२७ कम्पनीको १४ अर्ब ३० करोड ८१ लाख ३६ हजार ८८७ रुपैयाँ बराबरको २ करोड ६९ लाख ९६ हजार ३१३ कित्ता सेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ वटा समूहमध्ये ६ समूहको परिसूचकमा हरियाली छाएको छ भने ७ समूहको परिसूचक राताम्मे भएका छन् । हाइड्रोपावर समूह सबैभन्दा धेरै ३.३३ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा समूह १.३८ प्रतिशतले घटेको छ ।

आज कारोबारमा आएका २२७ कम्पनीमध्ये ९८ कम्पनीको सेयर मूल्य बढेको छ भने ११८ कम्पनीको मूल्यमा गिरावट आएको छ । ११कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज अपी पावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै ८२ करोड रुपैयाँको कारोबार भएको छ । कारोबार रकमकै आधारमा अरुण भ्याली हाइड्रोपावर ६० करोड र युनिभर्सल पावर ५४ करोडको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।

न्यून अंकले बढेको बजारमा आज आधादर्जन कम्पनीको सेयर मूल्य पोजेटिभ सर्किट लागेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, अपी पावर, युनिभर्सल पावर र जीवन विकास लघुवित्तको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

यस्तै, युनियन लाइफ इन्स्योरेन्स र ङादी पावर कम्पनीका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन । कर्णाली डेभलपमेन्ट बैंक र छ्याङ्दी हाइड्रोपावरको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । यस्तै, बुटवल पावर, नेपाल फाइनान्स र सिनर्जी पावर कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले बढेको छ ।

आज एनआइसी एशिया बैंकका डिबेञ्चरधनीले भने सबैभन्दा धेरै ७.३७ प्रतिशत गुमाएका छन् ।