न्यूयोर्क
सन २०१९ को अन्तिम ३ महिना बाँकी हुँदा यो बर्ष दुई एसियाली देशका राहदानी विश्वभरका देशहरु मध्ये सबैभन्दा शक्तिशालीमा दरिएका छन् । जापान र सिंगापुरको राहदानी भ्रमणका लागि सबैभन्दा सजिलो भएका कारण विश्वमा नै सबैभन्दा शक्तिशाली भएका हुन् । बिगत १५ बर्षदेखि लगातार विश्वभरका देशहरुका राहदानीको अध्ययन गर्दै आएको हेनेली पासपोर्ट इन्डेक्सले भर्खरै सार्वजनिक गरेको रिपोर्ट अनुसार जापान र सिंगापुरको राहदानी १ नम्बरमा परेको हो । जापान र सिंगापुरको राहदानी बाहकलाई १९० देशहरुको भ्रमण गर्दा प्रवेशाज्ञा पहिले नै लिनु पर्दैन । ती दुई देशका राहदानी बाहक १९० देशहरुमा बिना भिसा भ्रमण गर्न सक्दछन । फिनल्याण्ड, जर्मनी र साउथ कोरियाको राहदानी बाहकले १८८ देशहरुको भ्रमणमा भिसा लिनु पर्दैन । यी तीन वटा देशहरुको राहदानी दोश्रो शक्तिशाली भएका छन् । युरोपियन देशहरु डेनमार्क, लक्जम्बर्ग र ईटालीको राहदानी तेश्रो शक्तिशाली हुन पुगेको छ । यी देशको राहदानी बोकेर १८७ देशहरुमा बिना भिसा भ्रमण गर्न सकिन्छ । फ्रान्स, स्पेन र स्विडेनलाई १८६ देशहरुको बिना भिसा भ्रमण गर्ने पहुँच प्राप्त भएपछि चौथौं शक्तिशाली भएका छन । सन २०१४ मा विश्वमा नै नम्बर १ को श्रेणीमा परेको संयुक्त राज्य अमेरिका र बेलायतको राहदानीको साख घटेर छैठौंमा पुगेको छ । बेलायत र अमेरिकाको यो श्रेणी सन २०१० पछिको सबैभन्दा तल्लो हो । लेबनन र उत्तर कोरियाको राहदानी १०० नम्बरमा परेका छन् । यि दुई देशहरुलाई ३९ देशहरुमा मात्र बिना भिसा भ्रमण गर्ने अनुमती छ भने नेपाल लेबनन र उत्तर कोरिया भन्दा एक श्रेणी पछाडि १०१ नम्बरमा ३८ वटा देशहरुको बिना भिसाको पहुँचमा छ । अफगानिस्तान सबैभन्दा पछाडि १०७ नम्बरमा परेको छ । यो देशको राहदानी बाहकले जम्मा २५ देशको पहुँच पाएका छन् ।
इन्टर्नेसनल एयर ट्रान्सपोर्ट अथोरिटी (अाई ए टि ए ) ले हेनेली पासपोर्ट इन्डेक्सलाई उपलब्ध गराएको डाटाको आधारमा कुन कुन देशको राहदानी कुन कुन देश भ्रमणमा प्रयोग गर्दा बिमानस्थलमा प्रबेशाज्ञा प्राप्त गर्न सकिने वा बिना प्रबेश आज्ञा भ्रमण गर्न सकिने वा भ्रमणपूर्व नै प्रवेश आज्ञा लिनु पर्ने भन्ने आधारमा तयार पारिएको हो । हेनेलीले कुल २२७ गन्तब्य र ११९ देशहरुको राहदानीको सुची माथि अध्ययन गरेर तयार पारेको जनाएको छ ।