जेठ महिनाको लागि वाणिज्य बैंकले घटाए ब्याजदर

काठमाडौं । वाणिज्य बैंकहरुको जेठ महिनाको लागि मुद्दती निक्षेपको ब्याजदर घटेको छ । ३ बैंकले बढाएका छन् । व्यक्तिगततर्फ मुद्दती निक्षेपको ब्याजदर जेठ महिनाका लागिऔसतमा ७.०७ प्रतिशत भएको छ । वैशाखमा औसत ब्याजदर ७.१५ प्रतिशत रहेको छ । १९ बैंकहरुको ब्याजदर ०.०८ विन्दुले घटको हो ।

बैंकिङ प्रणालीमा पर्याप्त लगानी योग्य रकम (तरलता) थुप्रिए पनि कर्जाको माग नबढेपछि बैंकहरूले थप ब्याजदर घटाएका हुन् । बैंकिङ प्रणालीमा अहिले ५ खर्ब रुपैयाँ बढी तरलता छ । तर, कर्जा लगानी हुन नसकेपछि बैंकहरूले स्थायी निक्षेप सुविधा प्रयोग गर्दै ३ प्रतिशत ब्याजदरमा राष्ट्र बैंकमा राखिरहेका छन् । यस्तो अवस्थामा बैंकहरूले आफ्नो लागत घटाउन पनि निक्षेपको ब्याजदर घटाएका हुन् ।

जेठका लागि २० मध्ये ९ वाणिज्य बैंकले निक्षेपको ब्याजदर घटाएका छन् प्रभु, ग्लोबल आइएमई र एनआइसी एशियाले बढाएका छन् । ८ बैंकले भने वैशाखकै ब्याजदर यथावत राखेका छन् ।

ग्लोबल र प्रभुले व्यक्तिगत र संस्थागत दुवै मुद्दती निक्षेपमा ०.५ प्रतिशत बिन्दुले ब्याजदर बढाएका छन् । त्यस्तै, एनआइसीले व्यक्तिगतमा ०.०५ प्रतिशत बिन्दु र संस्थागतमा ०.१० प्रतिशत बिन्दुले बढाएको छ ।

जेठमा नबिल र एभरेष्टले व्यक्तिगतमा सर्वाधिक ०.५ प्रतिशत बिन्दुले ब्याजदर घटाएको छ । त्यस्तै, एनएमबी, सिटिजन, सिद्धार्थ, सानिमा, प्राइम, राष्ट्रिय वाणिज्य र नेपाल एसबीआई बैंकले पनि निक्षेपको ब्याजदर घटाएका छन् ।

वैशाखको तुलनामा जेठमा वाणिज्य बैंकहरूले औसतमा व्यक्तिगत निक्षेपतर्फ ०.०७ प्रतिशत बिन्दु र संस्थागततर्फ ०.०४ प्रतिशत बिन्दुले घटाएका छन् । वैशाखमा व्यक्तिगत मुद्दतीको औसत ब्याजदर ७.०७ प्रतिशत रहेकोमा जेठमा घटेर ७ प्रतिशतमा झरेको छ । त्यस्तै, संस्थागत मुद्दतीको औसत ब्याजदर वैशाखमा ५.८७ प्रतिशत रहेकोमा जेठमा ५.८३ प्रतिशतमा झरेको छ ।

जेठमा वाणिज्य बैंकहरू बीच निक्षेपको ब्याजदर २.१४ प्रतिशतसम्म फरक भएको छ । एनएमबीले सर्वाधिक ७.८० प्रतिशत र कृषि विकासले सबैभन्दा कम ५.६६ प्रतिशत ब्याजदर दिने भएको छ । वाणिज्य बैंकहरूले ब्याजदर घटाएको यो लगातार आठौं महिना हो ।