काठमाडौं । पछिल्लो दिनहरुमा निरन्तर उकालो लागेको सेयर बजारमा आज झिनो करेक्शन आएको छ । तिहार पछिका ३ कारोबार दिनमा मात्रै करिब ६५ अंकले बढेको बजारमा आज दुई अंकको करेक्शन आएको हो ।
सूचकमा झिनो गिरावट आएपनि कारोबार रकममा भने ठूलो गिरावट आएको छ । आइतबार इतिहासकै सर्वाधिक ६ अर्ब ९० करोड कारोबार भएकोमा आज २ अर्ब १५ करोडले गिरावट अनएको छ ।
पछिल्लो समय अस्वभाविक रुपले बढेको बजारमा प्रफिट बुक गर्ने हावी हुँदा कारोबारमा ह्वात्तै गिरावट आएको आँकलन गरिएको छ । यद्यपि आज पनि कारोबार रकम भने उत्सािहजनक नै रहेको छ
सेयर बजार मापक सूचक नेप्से २.३८ अंकले घटेर १७८०.४३ विन्दुमा पुगेको छ । यसदिन १९९ कम्पनीको १ करोड २० लाख २१ हजार ३४७ कित्ता सेयर ४ अर्ब ७६ करोड २७ लाख ४ हजार ६११ रुपैयाँमा कारोबार भएको छ ।
कारोबारमा आएका १२ वटा समूहमध्ये ४ समूहको परिसूचक उकालो लागेका छन् भने ८ समूहको परिसूचक ओरालो लागेका छन् । आज उत्पादनमूलक समूहको परिसूचक सबैभन्दा धेरै १३३.५८ अंकले बढेको छ भने जीवन बीमा समूह सबैभन्दा धेरै १८२.४० अंकले घटेको छ ।
आज लगानीकर्ता नेपाल बैंकको कम्पनीको सेयरमा झुम्मिएका छन् । यसको सबैभन्दा धेरै ३० करोड २२ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । कारोबार रकमकै आधारमा नेपाल पुनर्बीमा कम्पनी र हिमालय डिस्ट्रिलरीको सेयर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।
आज कारोबार भएका कुल १९९ कम्पनी मध्ये ५५ कम्पनीको मूल्य बढेको छ भने १२० कम्पनीको मूल्य घटेको छ । २३ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।
घट्दो बजारमा आज जलविद्युत् कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।
आज एनआइसी एशिया ब्यालेन्स फण्डका लगानीकर्ताले सबैभन्दा धेरै ४.५३ प्रतिशतले गुमाएका छन् ।