झिनो अंकले घट्यो नेप्से, ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकले घटेको छ । सोमबार नेप्से ३.३३ अंकले घटेर १६३७.६३ विन्दुमा कायम भएको छ ।

यसदिन १९७ कम्पनीको २ अर्ब ४५ करोड ३९ लाख ५४ हजार ६८८ रुपैयाँ बराबरको कारोबार भएको छ । ६९ लाख ३७ हजार ४५४ कित्ता सेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १२ वटा समूहमध्ये ८ वटा समूहको परिसूचक उकालो लागेका छन् भने ४ समूहको परिसूचक ओरालो लागेका छन् ।

आज पनि लगानीकर्ता माइक्रोफाइनान्सको सेयरमा आकर्षित भएका छन् । गत साता बैंकको सेयरमा झुम्मिएका लगानीकर्ता प्रफिट बुक गरेपछि यस साता माइक्रोफाइनान्सतर्फ डाइभर्ट भएका हुन् ।

आज सबैभन्दा धेरै माइक्रोफाइनान्स समूहको परिसूचक ६२.३ अंकले बढेको छ भने बैंकिङ समूहको परिसूचक ११.६२ अंकले घटेको छ ।

आज लगानीकर्ताको रोजाइमा प्राइम कमर्शियल बैंक परेको छ । यसको सबैभन्दा धेरै १२ करोड ४० लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । कारोबारकै आधरमा नेपाल बैंक र जलविद्युत कम्पनीको सेयर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।

घट्दो बजारमा पनि आज ५ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।विशाल बजार कम्पनी, सारथी नेपाल लघुवित्त, गुँरास लघुवित्त र शिवश्री हाइड्रोपावरका सेयरधनीले १० प्रतिशत कमाएका छन् । आज जनरल इन्स्योरेन्सको सेयरधनीले सबैभन्दा धेरै ३.१४ प्रतिशतले गुमाएका छन् ।