राष्ट्रपति ट्रम्पलाई अर्को धक्का, ‘रेड स्टेट’ लुइजियानाको गभर्नरमा डेमोक्र्याट बिजयी

न्यूयोर्क

अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा महाभियोगको सामना गरि रहेका राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को गम्भिर राजनीतिक धक्का ब्यहोर्नु परेको छ । ट्रम्पको अथक प्रयासका बावजुत रिपब्लिकन बहुल (रेड स्टेट) राज्य लुइजियानाको गभर्नरमा डेमोक्र्याट उम्मेद्वारको जितले उनको अर्को बर्ष पुननिर्वाचित हुने सपना माथि प्रश्न चिन्ह थपि दिएको हो ।

लुइजियानामा शनिबार गभर्नरको चुनाव भएको हो । रेशमा बहालवाला डेमोक्रेटिक गभर्नर जोन बेल इडवार्ड र रिपब्लिकन व्यवसायी एड्डी रेस्पोन थिए । ट्रम्पले रेस्पोनलाई जिताउन पछिल्ला १० दिनको अन्तरालमा लुइजियानामा दुई चुनावी सभा गरेका थिए भने दर्जनौँ ट्विट मार्फत भोट माग्दै आएका थिए । लुइजियानाको नतिजाले आफु विरुद्धको महाभियोग प्रकृयालाई प्रभावित पार्ने भएको कारण जसरीपनि रिपब्लिकन उम्मेद्वारलाई जिताउन उनको अपिल थियो । तर, मतदाताले डेमोक्रेटिक उम्मेद्वारलाई बिजयी बनाएर एक किसिमले महाभियोग प्रकृयाप्रति समर्थन जनाएका छन् ।

लुइजियाना रिपब्लिकनका लागि अत्यन्त सहज राज्य मानिन्छ । सन् २०१६ को निर्वाचनमा ट्रम्पले लुइजियानामा हिलारी क्लिन्टन भन्दा २० प्रतिशत मतले अग्रता लिंदै  आठ इलेक्टोरल कलेज मत पाएका थिए । सोही कारण पनि लुइजियानाको गभर्नर चुनावलाई ट्रम्पले आफ्नो प्रतिष्ठाकै बिषय बनाएको थिए । दुई साता अघि भएको निर्वाचनमा ट्रम्पको रिपब्लिकन पार्टीले अर्को सहज राज्य केन्टकीको गभर्नर गुमाएको थियो । त्यहीबेला देखि दवावमा परेका ट्रम्पले लुइजियाना जसरी पनि जित्ने रणनीति बनाएका थिए ।

शनिबारको निर्वाचमा एड्वार्डले ५१ दशमलव ३ प्रतिशत मत पाए । रिस्पोनले ४८ दशमलव ७ प्रतिशत मत पाए । उनीहरुको मतान्तर ४० हजार मतको रहेको छ । चार दशक पछि पहिलो पटक लुइजियाना गभर्नरमा डेमोक्रेटिक उम्मेद्वार पुनर्निर्वाचित भएको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् ।