ट्रम्प-मक्स नीति : युएसएआइडीका विश्वभरीका कर्मचारीलाई दिइयो बिदा

काठमाडौं । अमेरिकी विदेशी सहायताको प्रमुख संस्था युएसएआइडीले विश्वभरमा रहेका आफ्ना कर्मचारीहरूलाई बिदा दिएको खबर सार्वजनिक भएको छ।
युएसएआइडीले वेभसाइटमार्फत सूचना जारी गरी विश्वभरीका कर्मचारीहरूलाई बिदा दिएको बताएको छ । वेभसाइट एक साता अघिसम्म बन्द थियो। युएसएआइडीले विशेष रूपमा तोकिएको तथा नेतृत्वदायी भूमिकामा रहेर महत्त्वपूर्ण जिम्मेवारीमा सम्हालिरहेकाको हकमा बिहीबारसम्म निर्णय गर्ने भनेको छ। बाँकी कर्मचारीहरूलाई बिदा दिने र उनीहरूसँगको करार सम्झौता रद्द गरिने सूचनामा उल्लेख छ।

युएसएआइडीको कर्मचारी रही देशबाहिर काम गरिरहेका अमेरिकीहरूलाई ३० दिनभित्र अमेरिका फर्किए संस्थाले खर्च ब्यहोर्ने बताएको छ। तत्काल फर्कन नमिल्ने अवस्थामा रहेकाहरुबारे पनि संस्थाले बिचार गर्ने र अर्को सूचना जारी गर्ने युएसएआइडीले जनाएको छ। सूचनामार्फत युएसएआइडीले विश्वभर काम गर्दै आएका आफ्ना कर्मचारीहरूलाई धन्यवाद पनि दिएको छ। अमेरिकामा नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पले जिम्मेवारी सम्हालेपछि युएसएआइडीको भविष्य अनिश्चित भनेको हो।

युएसएआइडी अमेरिकी विदेशी सहायता र विकास कार्यक्रमहरू सञ्चालन गर्ने स्वतन्त्र संस्था हो। विश्वभर यसका लगभग १०,००० कर्मचारी छन्। पूर्व राष्ट्रपति जो बाइडेनले युएसएआइडीका प्रमुखलाई राष्ट्रिय सुरक्षा परिषदमा राखेका थिए। युएसएआइडीले संसारभरका कैयन् मुलुकमा शिक्षा, स्वास्थ्य, स्वच्छ खानेपानी, घातक रोगहरूको उपचार, आर्थिक विकास, भ्रष्टाचार नियन्त्रण र सुशासन लगायतका क्षेत्रमा काम गर्छ।

युएसएआइडी नेपालमा विगत ७० वर्षदेखि कार्यरत छ। यो संस्थाले सन् २०२२ मा नेपाललाई पाँच वर्षकालागि ६६ करोड अमेरिकी डलर (करिब ९१ अर्ब रुपैयाँ) सहायता दिने घोषणा गरेको थियो। अमेरिकी कांग्रेसका डेमोक्र्याटिक पार्टीका सदस्यहरूले ट्रम्प प्रशासनले यो काम युएसएआइडी स्थापना गर्ने र यसलाई एक स्वतन्त्र संस्थाको रूपमा काम गर्न दिने अमेरिकी कानुनहरूको उल्लंघन गरेको बताएका छन्। उनीहरूले कानुन निर्माता र युएसएआइडीका कर्मचारीहरूसँग यसका बिरुद्ध कानुनी कदमहरू चाल्नेबारे छलफल गरिरहेको समाचार संस्थाहरूले जनाएका छन्।