ट्राफिक प्रहरीलाई एक सय रुपैयाँ घुस दिन खोज्दा चालक पक्राउ

सांकेतिक तस्वीर

काठमाडौं । नेपालमा ट्राफिक प्रहरीलाई एक सय रुपैयाँ घुस दिन खोजेका एक ट्रक चालक पक्राउ परेका छन् । सोमबार साँझ बालाजुमा ड्युटीमा खटिएका ट्राफिक प्रहरी हवल्दार वसन्तकुमार गौतमलाई एक सय रुपैयाँ घुस दिन खोजेका ना ५ ख ९१२५ नम्बरको ट्रक चालक बाराका विजय चौधरी पक्राउ परेका हुन् । प्रहरीले उनीसँग कागज पत्र मागेका थिए ।

ट्राफिक प्रहरीका अनुसार उनलाई पक्राउ गरी कारबाहीका लागि प्रहरी वृत्त बालाजुमा बुझाइएको छ । सोमबार नै बालाजुमा ट्राफिक प्रहरी जवान विवेक नकाललाई २ सय रुपैयाँ घुस दिन खोजेका अर्का ट्रक चालक समेत प्रहरीको फन्दामा परेका छन् । ना ५ ख ६५१४ नम्बरको ट्रक चालक मकवानपुरका अनोज मोक्तानले घुस दिन खोजेका थिए ।