काठमाडौं । अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ हालसम्मकै कमजोर अवस्थामा पुगेको पाइएको छ । डलर लगातार बलियो बनिरहेको छ । यसले नेपाली मुद्रा कमजोर अवस्थामा पुगेको हो । नेपाल राष्ट्र बैंकले शनिबार र आइतबारका लागि एक अमेरिकी डलरको विनिमय दर १३७.१६ रुपैयाँ (बिक्री) दर तोकेको छ ।
जुन हालसम्मकै उच्च हो ।
गत शुक्रबार एक अमेरिकी डलरको विनिमय दर १३६.७३ रुपैयाँ थियो । पछिल्ला सातामा हरेक दिन अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ निरन्तर कमजोर बन्दै आएको छ । राष्ट्र बैंकका अनुसार गत कात्तिक मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ १.०२ प्रतिशतले अवमूल्यन भएको छ ।
डलर बलियो बन्दा नेपाललाई लाभ पनि हुन्छ । हालको अवस्थामा सबैभन्दा बढी फाइदा रेमिट्यान्स आप्रवाहमा पर्छ । डलर बलियो हुँदा एकातिर रेमिट्यान्स आप्रवाह (मुलुक भित्रिने रकम) बढ्छ भने अर्कोतिर रेमिट्यान्स पठाउनेको संख्या पनि तीव्र हुन्छ । डलर बढेको समयमा फाइदा पुग्ने भएकाले विदेशमा रहेका नेपालीले ठूलो मात्रामा रेमिट्यान्स पठाउँछन् ।
डलर बलियो हुँदा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मा पनि सकारात्मक प्रभाव पर्छ । रेमिट्यान्स र एफडीआईमा आएको सुधारले मुलुकको भुक्तानी सन्तुलन बचतमा राख्न ठूलो मद्दत पुग्छ । नेपालले पर्यटन र निर्यातमा राम्रो सुधार गरेर पनि डलर बलियो हुनुको लाभ लिन सकिन्छ ।
डलरको भाउ बढ्दा सबैभन्दा बढी नोक्सानी वस्तु तथा सेवाको आयातबापतको भुक्तानीमा हुन्छ । यद्यपि पछिल्ला महिनामा आयात धेरै बढ्न नसकेकाले त्यसबापत भुक्तानी गर्नुपर्ने दायित्व त्यति बढेको छैन । विदेशी लगानी फिर्ता, विदेशी लगानीको लाभांश वितरणलगायतमा पनि धेरै रकम खर्चिनुपर्ने हुन्छ । त्यो नेपालका लागि नोक्सानी हो । यस्तै डलरको मूल्य बढ्दा विदेश अध्ययन, भ्रमण, स्वास्थ्य उपचारमा धेरै रकम खर्च हुने भएकाले यो पनि नेपालीका लागि बेफाइदा हो ।