डलर संचिति हालसम्मकै धेरै, विदेशी मुद्रा १८ खर्ब नाघ्यो, १ वर्षको आयात धान्ने

काठमाडौं । अमेरिकी डलर संचिति हालसम्मकै धेरै भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको छैटौं महिना (पुससम्म)को तथ्यांक अनुसार डलर संचिति १३ अर्ब ६९ करोड पुगेको छ ।

यो राष्ट्रिय ढुकुटीमा यति धेरै डलर जम्मा भएको इतिहासमै पहिलो पटक हो । यसअघि २०२३ को डिसेम्बरमा १३ अर्ब ३० डलर संचिति करोड थियो । गत असारको तुलनामा चालु वर्षमा डलर संचिति १९.९ प्रतिशतले बढेको हो ।

रेमिट्यान्स आप्रवाहमा वृद्धि, पर्यटकको आवगमन बढ्नु र विदेशी वस्तुको आयात घट्दा डलर संचिति लगातार बढेको हो ।

२०७९ असोजदेखि डलर संचितिमा लगातार सुधार आएको छ । पछिल्लो एक महिनामा मात्रै राष्ट्रिय ढुकुटीबाट ३९ करोड डलर थपिएको ।

डलर संचिति बढेको यो लगातार पन्ध्रौं महिना हो । राष्ट्रिय ढुकुटीमा चालु आवको साउनमा १२ करोड, भदौमा १६ करोड, असोज ३७, कात्तिकमा ४२ करोड र मंसिरमा ५५ करोड डलर थपिएको छ ।

त्यस्तै, गत वर्षको असोजमा १३ करोड, कात्तिकमा १५ करोड, मंसिरमा १९ करोड, पुसमा ४८ करोड, माघमा २० करोड, फागुनमा १९ करोड, चैतमा २५ करोड, वैशाखमा २७ करोड, जेठमा ९ करोड र असारमा ४३ करोड डलर थपिएको थियो ।

सरकारले डलर संचिति घटेको भन्दै २०७८ चैतदेखि वर्षदेखि विभिन्न विलासी वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । तर, गत पुसदेखि सरकारले आयात खुलाए पनि त्यसका बाबजूद डलर संचितिमा लगातार सुधार आएको हो ।

यस्तै, विदेशी मुद्रा संचिति अहिलेसम्मकै धेरै भएको छ । राष्ट्र बैंकका अनुसार पुससम्म विदेशी मुद्रा संचिति १८ खर्ब १६ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ । यो पनि इतिहासकै धेरै हो ।

गत असारको तुलनामा असोजमा विदेशी मुद्रा संचिति १८ प्रतिशतले बढेको हो । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रु.१६०० अर्ब २३ करोड र रु.२१६ अर्ब ३५ करोड रुपैयाँ छ । २०८० पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४.५ महिनाको वस्तु आयात र १२.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।