डेढ वर्षमा कोरोनाबाट अमेरिकाले गुमायो ७ लाख नागरिक

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण सर्वाधिक मानवीय क्षति भोगेको अमेरिकामा मृत्यु हुनेको संख्या ७ लाख नाघेको छ । अमेरिकी संचारमाध्यमहरुका अनुसार जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिसोर्स सेन्टरले शनिबार बिहानसम्मको तथ्यांक सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो । अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७ लाख २ सय ५८ पुगेको तथ्यांक आएको छ । यो मृत्यु डेढ वर्षको अवधिमा भएको हो ।

शनिबार बिहानसम्म अमेरिकामा कोरोना संक्रमितको संख्या ४ करोड ३६ लाखभन्दा बढी छ । जोन्स होप्किन्स विश्वविद्यालयका अनुसार पछिल्लो २८ दिनमा मात्रै अमेरिकामा कोरोनाबाट ५१ हजार ६ सय ८३ जनाको मृत्यु भएको छ । पछिल्लो २८ दिनमा अमेरिकामा ३७ लाख ६० हजारभन्दा बढी संक्रमित थपिए । शनिबार बिहानसम्म विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४७ लाख ९० हजार नाघेको छ ।

संसारमा २३ करोड ४२ लाख मानिसमा संक्रमण भएको छ । विश्वभर कोरोना भाइरसविरुद्ध ६ अर्ब २६ करोडभन्दा बढी मात्रा खोप वितरण भइरहेको छ । धनी मुलुकमा नागरिकले खोप लगाउन नमानेर खोप अभियान सुस्त भएको छ भने गरिब मुलुकमा खोप नै नपाएर अभियान सुस्त भएको छ ।