प्रभात भट्टराई/अमेरिका
गत साताको ‘सुपर ट्युज्डे प्राइमरी’ निर्वाचनमा कमजोर प्रदर्शन गरेपछि सिनेटर बर्नी स्यान्डर्सले नयाँ गन्तव्य तय गरेका थिए मिसिसिपी । मार्च १० मा प्राइमरी चुनाव हुने ‘सुपर ट्युज्डे– २’ मा मिसिसिपी पनि सामेल थियो । ३६ डेलिगेट रहेको मिसिसिपीमा शुक्रबार चुनावी सभा गर्ने स्यान्डर्स क्याम्पेनको तयारी थियो । तर, उनले बिहीबार एकाएक यात्रा स्थगथ गरेर शुक्रबार सोझै मिसिगन उड्ने निर्णय लिए ।
मंगलबार (मार्च १०) प्राइमरी चुनाव हुने राज्यहरुमा मिसिगन सबैभन्दा ठूलो हो । भिडम्भाड रहेको डेमोक्रेटिक राष्ट्रपतिय उम्मेद्वारहरुको सूची अहिले तीन जनामा छोटिएको छ । त्यसमा पनि हवाईकी हाउस अफ रिप्रिजेन्टेटिभ तुलसी गब्बर्डको उपस्थिती औपचारिकतामा सिमित छ । पूर्व उपराष्ट्रपति जो बाइडेनले आउँदो नोभेम्बरमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चुनौती दिने गरि पार्टीको टिकट हत्याउन प्रष्ट ‘लिड’ लिइ सकेका छन् ।
१२५ डेलिगेट्स रहेको मिसिगन सबैलाई चकित पार्दै सन् २०१६ को प्राइमरीमा स्यान्डर्सले जितेका थिए । सबै सर्भेक्षणले हिलारी क्लिन्टनलाई दोहोरो अंकको अग्रता दिलाएका थिए । तर, अन्त्यमा दुई प्रतिशत बिन्दुभन्दा कम मतान्तर सहित स्यान्डर्स बिजयी भए र प्राइमरी प्रतिश्पर्धालाई जिवित राखे । मिसिगन र मिसिसिपी बाहेक मंगलबार आईडाहो (२० डेलिगेट्स), मिजौरी (६८ डेलिगेट्स), नर्थ डकोटा (१४ डेलिगेट्स) र वासिंटन (८९ डेलिगेट्स) मा पनि प्राइमरी चुनाव हुँदैछ ।
गत साताको प्राइमरीमा क्यालिफोर्नियामा सानो अंकको अग्रता बाहेक अरु उपलब्धि हासिल गर्न नसकेका स्यान्डर्सका लागि मिसिगन सम्भवतः अन्तिम लडाइँ हो । मिसिगनमा जित हासिल गरे उनको यात्रा केही अगाडि जान सक्छ । मिसिगन पनि बाइडेनको पोल्टामा परे स्यान्डर्सले पार्टीको टिकट हत्याउने गणितिय सम्भावना त जिवित रहन्छ तर माहोल पुर्णतः उनको प्रतिकुल हुन जानेछ ।
मिसिगन यस्तो राज्य हो, जुन २०१६ मा डेमोक्र्याटहरुबाट ट्रम्पले खोसेका थिए । प्राइमरीमा स्यान्डर्सलाई भोट हाल्ने डेमोक्रेटिक मतदाताले अन्तिम चुनावमा ट्रम्पलाई साथ दिएपछि हिलारी करिब १० हजार मतान्तरले पराजित भएकी थिइन् । यसपाली राष्ट्रपति जित्नका लागि डेमोक्र्याटले मिसिगन फिर्ता ल्याउनै पर्ने हुन्छ । त्यसैले त्यहाँको प्राइमरीमा जित हासिल गरेर आफुले ट्रम्पलाई हराउने सम्भावना धेरै रहेको बर्नी पुष्टि गर्न चाहन्छन् । सोही कारण सुरु देखिनै सर्भेक्षणहरुमा कमजोर देखिएको मिसिसिपी उनले प्रतिश्पर्धा अघि नै त्यागिदिए । सर्भेक्षणहरुले मिसिसिपीमा बाइडेन स्यान्डर्सभन्दा ३० प्रतिशत बिन्दुसम्मले अघि रहेको देखाएका छन् ।
शुक्रबार मिसिगन पुगेका स्यान्डर्सले तीन दिन लगातार त्यहाँ चुनावी सभा, टाउन हल एवं छलफल गरे । आईतबार इलाइनियोस निवासी मानव अधिकारबादी नेता जेस ज्याक्सनले स्यान्डर्सलाई मिसिगन पुगेर समर्थन पनि गरेका थिए । १४ प्रतिशत काला जातिको बसोबास रहेको मिसिगनको चुनावमा उनीहरुको भोट निर्णायक हुन्छ । त्यसैले काला जातिबाट समर्थन खोजि रहेको स्यान्डर्सलाई ज्याक्सनको सहयोगले मलमको काम पनि गर्यो । उनी सोमबार दिउँसो केही क्षणका लागि मिजौरी पुगेपछि साँझ फेरि मिसिगन फर्किएर कोरोना भाइरस सम्बन्धि छलफलमा भाग लिएका छन् ।
बाइडेन भने मिजौरी, मिसिसिपीको म्याम्पेन सकेर सोमबार मिसिगन उक्लिएका छन् । काला जातिको बाक्लो बसोबास रहेको दक्षिणी राज्यमा सानदार प्रदर्शन गरि रहेका बाइडेनले मिजौरी र मिसिसिपीमा सहज जित निकाल्ने प्रक्षेपण गरिएको छ । आफु दक्षिणमा व्यस्त रहँदा मध्य उत्तरको मिसिगनमा भने उनले केही दिन अघिसम्मकी प्रतिश्पर्धी एवं मिनिसोटाकी सिनेटर एमी क्लोबुचारलाई पठाएका थिए । गत साताको सुपर ट्युज्डेको अघिल्लो दिन एमीले आफ्नो राष्ट्रपतिय होड अन्त्य गर्दै बाइडेनलाई समर्थनको घोषणा गरेकी थिइन् । त्यसकै परिणाम स्वरुप बाइडेनले अप्रत्याशित रुपमा एमीको गृहराज्यमा जित निकालेका थिए ।
बाइडेनले सोमबार राज्यको सबैभन्दा ठूलो सहर डेट्रोइट सहित तीन स्थानमा चुनावी सभा गरेका छन् । उनी मिसिगन र मिजौरीमा रहेका बेला दुईजना काला जातिका सिनेटर एवं उनकै पूर्व प्रतिश्पर्धीले समर्थनको घोषणा गरेका थिए । सिनेटरहरु कमला ह्यारिस र कोरी बुकरले बाइडेनलाई ‘इन्डोर्स’ गरेका हुन् । उनीहरुले सोमबार साँझको डेट्रोइट सभामा उपस्थित भइ बाइडेनको पक्षमा भोट मागे । काला जातिबाट ब्यापर्क समर्थन पाएकै कारण ‘फ्रन्ट रनर’ बनेका बाइडेनलाई दुई प्रभावशाली काला सिनेटरको समर्थनले थप उत्साहित बनाएको छ ।
मत सर्भेक्षणको साथ छैन स्यान्डर्सलाई
सर्भेक्षणहरुले स्यान्डर्सको अथक प्रयासका बाबजुत पनि मिसिगनमा पनि ठूलो मतान्तरले बाइडेन बिजयी हुने देखाएका छन् । सोमबार विहान सार्वजनिक भएका चार सर्भेक्षणले १५ देखि ४१ प्रतिशत बिन्दुसम्मको बाइडेनको अग्रता देखाएका छन् । चार बर्ष अघि पनि हिलारीको अवस्था यस्तै देखाइँदा स्यान्डर्सले चामत्कारिक जित हासिल गरेका थिए । अहिले पनि सोही चमत्कारको अपेक्षा स्यान्डर्सले गरेका छन् । तर, अवस्था भने उनले सोचेजस्तो छैन ।
चार बर्ष अघि उनले झन्डै ३० प्रतिशत काला मतदाताको समर्थन पाएका थिए भने मतदानमा युवा सहभागिता उल्लेख्य थियो । अहिले उनले काला जातिबाट २० प्रतिशत समर्थन पनि पाउन सकेका छैनन् भने २०१६ को तुलनामा युवाहरुको भोट घटेको छ । त्यसमाथि २०१६ मा स्यान्डर्सलाई सघाएको कलेज डिग्री लिएका गोराहरुको मत यसपाली बाइडेन तिर सोझिएको छ । त्यसमाथि बाइडेन प्रति उत्साहित कालाहरुको मतदान अनुपात पनि बढेको छ ।
सन् २०१६ को प्राइमरी निर्वाचनमा मेडिकेयर अफ अल, विद्यार्थीको अध्ययन कर्जा मिनाहा जस्ता क्रान्तिकारी एजेन्डासाथ स्यान्डर्सले हिलारीलाई अन्तिमसम्म टक्कर दिएका थिए । युवाहरुको उत्साहजनक समर्थनले उनले देशब्यापी रुपमा आफ्नो पहिचान बनाउन सफल भए । त्यही उपलब्धिलाई ‘क्यास’ गर्न यसपाली उम्मेद्वारी दिएका स्यान्डर्स आईवा ककस, न्यूह्यामसर प्राइमरी र नेभादा ककससम्म अग्रस्थानमा देखिएका थिए । तर, साउथ क्यारोलिनामा बाइडेनको सानदार जितसँगै दुई प्रभावशाली मध्यमार्गी उम्मेद्वारहरु पिट बुट्टिजज र एमी क्लोबुचारले आफ्नो क्याम्पेन अन्त्य गर्दै उनलाई समर्थनको घोषणा गरे । त्यसकै प्रभाव स्वरुप गत साताको सुपर ट्युज्डेमा १४ मध्ये १० राज्यमा जित निकाल्न बाइडेन सफल भए । सुपर ट्युज्डे पछाडि लाखौँ करोडौँ खर्चिएर प्राइमरी चुनावमा उम्मेद्वारी दिएका न्यूयोर्क न्यूयोर्क सिटीका पूर्व मेयर माइक ब्लुमबर्गले पनि ‘ड्रप आउट’ हुँदै बाइडेनलाई समर्थन घोषणा गरेका छन् । यसको फाइदा पनि मंगलबारको चुनावमा बाइडेनलाई पुग्नेछ ।
सन् २०१६ मा स्यान्डर्स न्यू इंग्गल्याण्ड क्षेत्रमा एकछत्र थिए । यसपाली उनी अघिल्लो पटक ६० प्रतिशत बढि भोट ल्याएको न्यूह्यामसरमा समेत बुट्टिजजसँग चार हजार कम मतान्तरमा बिजयी भए भने गृहराज्य भर्मौन्टमा पाँच डेलिगेट्स बाइडेनले खोसे । मासाचुसेट्स र मेनमा बाइडेनले जित निकाले । यदि मिसिगनमा जित हासिल गर्न नसके स्यान्डर्स क्याम्पेन २०१६ को स्तरमा पनि नपुगि अत्य हुनेछ । मिसिगन पछि तत्काल प्राइमरी चुनाव हुने ठूला राज्यहरु फ्लोरिडा, इलाइनोइस, ओहायो, जर्जिया, एरिजोनामा पनि स्यान्डर्स प्रभाव न्यून छ । त्यसैले मिसिगन जितेपनि स्यान्डर्स क्याम्पेन धेरै टाढासम्म पुग्न नसक्ने आँकलन राजनीतिक पण्डितहरुले सुरु गरि सकेका छन् । त्यसबेला स्यान्डर्सले जुन ७ सम्म टिकटका लागि हिलारीसँग प्रतिश्पर्धा गरेका थिए र अन्तिममा नर्थ डकोटामा जित हासिल गरेका थिए । २०१६ मा स्यान्डर्सले २३ राज्य जितेका थिए । डेमोक्रेटिक नेशनल कमिटीले झेल गरेर हिलारीलाई टिकट दिएको भन्दै त्यसबेला उनका समर्थक क्रुद्ध पनि बनेका थिए ।
राजनीतिक विश्लेषण गर्ने वेवसाइट ‘फाइभ थर्टी एट’का अनुसार स्यान्डर्सले मंगलबार हुने निर्वाचनमध्ये वासिंटन राज्यमा जित निकाल्ने झिनो सम्भावना रहेको छ । अरु सबैमा बाइडेनको पल्लाभारी छ । त्यसपछि एकैपटक अप्रिल ४ मा योमिङ जित्न सक्ने आंकलन उक्त वेव साइटको छ । मंगलबार देखि अप्रिल चारसम्ममा एक हजार बढि डेलिगेट्सहरुको छिनोफानो भइ सक्नेछ । त्यसैले केही सातामै स्यान्डर्सले हात उठाउन सक्छन् ।
क्याम्पने अघि बढाउन उनलाई पैसाको खाँचो भने हुने छैन । किनभने सुरु देखिनै डेमोक्रेटिक पार्टीमा सर्वाधिक चन्दा संकलन गर्ने उनै हुन् । तर, टिकट हत्याउने गणितिय सम्भावना सकिँदा पनि उनले क्याम्पेन जारी राखे भने डेमोक्र्याट भित्रैबाट ट्रम्पलाई सघाउन खोजेको आरोप लाग्नेछ । अहिले नै स्यान्डर्सले बाइडेनलाई गरेका कैयन् व्यक्तिगत आक्षेपलाई मध्यमार्गीहरुले पार्टीभित्र अनावश्यक विवाद बढाउन खोजेको र ट्रम्पको मनोबल बढाएको टिप्पणी गर्न थालि सकेका छन् । गत साताको सुपर ट्युज्डे पछाडि देशब्यापी सर्भेक्षणमा पनि बाइडेनले स्यान्डर्सलाई दोहोरो अंकले उछिनि सकेका छन् । डेमोक्रेटिक मतदाताहरु यो बर्ष जसरी पनि ट्रम्पलाई हराउन चाहन्छन् । त्यसैले आफूसँग एजेन्डा मिल्नेभन्दा बढि जित्ने उम्मेद्वारलाई छानेको उनीहरुको मत छ ।
बहालवाला रिपब्लिकन राष्ट्रपतिलाई हराउन डेमोक्र्याटिक मतदाता छिटो जित्ने उम्मेद्वारप्रति एकिकृत भएको ट्रेन्ड छ । सन् २००४ मा सुपर ट्युज्डेले नै जोन केरीलाई उम्मेद्वारको रुपमा तय गरेको थियो । उनका सबै प्रतिश्पर्धी त्यहिँबाट पाखा लागेका थिए । तर, २००८ भएको खुला प्रतिश्पर्धामा बाराक ओबामा र हिलारीको भिडन्त २०१६ मा जस्तै अन्तिमसम्म चलेको थियो । यसपाली पनि डेमोक्रेटिक मतदाताले २००४ कै शैलीलाई पुनराबृत्ति गराउन खोजेका हुन् । त्यसबेला सन् २००१ सेप्टेम्बर ११ को आतंककारी हमलाको प्रतिकारमा जुधि रहेका रिपब्लिकन राष्ट्रपति जर्जडब्लु बुस जनतामा लोकप्रिय रहेका कारण केरी निर्वाचित हुन सकेनन् । तर, यसपाली ट्रम्पको अलोकप्रियताको फाइदा उठाएर डेमोक्रेटिक उम्मेद्वारले बाजी मार्ने उक्त दलका मतदाताको आशा छ ।