डालास
गत बर्षको सफलताबाट प्रोत्साहित नेप्लिज बुद्धिस्ट ऐशोसिएसन, टेक्सासले यस वर्ष पनि स्कूलका विद्यार्थीहरुका लागि निबन्ध प्रतियोगिता गर्ने भएको छ। “बुद्ध र उनको शिक्षा बिषयमा दोश्रो निबन्ध प्रतियोगिता” कार्यक्रममा यो बर्ष पनि किंडर-गार्टनदेखि १२ कक्षासम्मका विद्यार्थीहरुले भाग लिन पाउने छ।
ऐशोसिएसनले आफ्नो फेसबुक पेजमार्फत उक्त प्रतियोगितामा भाग कसरी लिने, कुन कुन बिषयमा निबन्ध लेख्न पाउने, सहयोगी किताबहरुको लिंक, प्रतियोगिताका नियमहरु, प्रतियोगी निबन्धहरु कसरी मूल्यांकन हुने र मूल्यांकन समितिका सदस्यहरुको जानकारी दिएको थियो। उक्त प्रतियोगितामा भागलिने विद्यार्थीलाई ४ हप्ताको तयारी समय रहेको छ।
कार्यक्रमका संयोजक तथा ऐशोसिएसनका सचिव डा नीरज बज्राचार्यले कार्यक्रमको मुख्य उद्देश्य बुद्ध र उनको शिक्षा बारे विद्यार्थीहरुलाई आफै शोधकार्य गर्न लगाई जानकारी दिने भएता पनि यस कार्यक्रमले उनीहरुको व्यक्तित्व विकासमा पनि टेवा पुग्ने जानकारी दिनुभयो। यस कार्यक्रमबाट विद्यार्थीहरुले कसरी सत्य तथ्य कुरा इन्टरनेट र अरु साधन हरुको उचित उपयोग गरी संकलन गर्ने, यसरी संकलित सत्य तथ्यलाई कसरी निबन्धको रुप दिने तथा आफुले तयार पारेको निबन्ध सबैको अगाडि कसरी आत्मविश्वासका साथ मौखिक रूपमा व्यक्त गर्ने भन्ने बारे व्यावहारिक ज्ञान पाउने छ। प्रतियोगिताका सल्लाहकारमा धिरेन गुरुङ हुनु हुन्छ।
प्रतियोगिताका विजेताहरुलाई इनामको पनि व्यवस्था गरिएको छ।