काठमाडौं । नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटनमा शिकारको याम शुरु भएको छ । असोज १५ देखि वैशाख १५ बीचको समयमा दुई सिजन शिकारको अनुमति दिइन्छ । कात्तिक÷मंसिरमा चल्ने पहिलो सिजनका लागि कुल ९ वटा नाउर र ७ वटा झारलको शिकार गर्न राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागले अनुमति दिएको छ । सोही अनुसार शिकारी पर्यटकहरु नेपाल आउने क्रम सुरु भएको व्यवसायीले बताएका छन् ।
यसरी शिकार गर्न आउनेमा अमेरिकी र रसियन शिकारी धेरै हुने गरेका छन् । यूरोपमा स्पेनबाट बढी मात्रामा शिकारी नेपाल आउँछन् । नेपालमा शिकारी भित्राउन पाउने गरी अनुमति प्राप्त कम्पनी आधा दर्जनको संख्यामा मात्र छन् । विभागले शिकारका लागि बोलपत्र आह्वान गर्छ, यी कम्पनीहरुबीच प्रतिस्पर्धा हुन्छ । प्रतिस्पर्धामा बढी बोलकबोल गर्ने कम्पनीले क्रमशः शिकारको अनुमति पाउँछ ।
सोही अनुसार कम्पनीहरुले शिकारी नेपालमा भित्राउँछन् । विभागले एक नाउरका लागि न्यूनतम डेढलाखसम्म मूल्य राखेर बोलपत्र निकाल्छ । तर, तीव्र प्रतिस्पर्धाका कारण यो सिजन एक नाउरका लागि १६ देखि २० लाख रुपैयाँसम्ममा टेन्डर परेको छ । ढोरपाटन शिकार आरक्षमा कुल ६ वटा ब्लक छन् । ब्लक अनुसार फरक फरक मूल्यमा प्रतिस्पर्धा हुन्छ । एक झारलको शिकार गर्न विभागले तोकेको न्यूनतम मूल्य ७५ हजार रुपैयाँ हो ।
तर, यस वर्ष १ लाख ६० हजारदेखि ६ लाख रुपैयाँसम्ममा झारल शिकारको अनुमति जारी भएको छ । नेपालमा शिकार याम सुरु भएपछि पर्यटकको आगमन सुरु हुन्छ । सोही अनुसार कम्पनीहरुले प्याकेज बिक्री गर्छन् । प्रबन्ध निर्देशक पराजुलीका अनुसार यसरी आउने पर्यटक कम्तीमा दुई साता फिल्डमा बस्छन् । उनीहरुलाई आधार शिविरसम्म हेलिकप्टरमा लैजाने गरिन्छ ।
त्यसअगाडि नेपाली सहयोगीहरु फिल्डमा खटिसकेका हुन्छन् । अनुगमनमा खटिने आरक्षका कर्मचारी समेत साथमा रहन्छ । सोही दौरान तोकिएका जनावरहरुको शिकार गरिन्छ । अनुमति प्राप्त कम्पनीले अभियान सम्पन्न भएपछि जनावरहरुको संरक्षणका लागि स्थानीय समुदायका लागि समेत निश्चित रकम दिएर मात्र फिर्ता हुन्छन् ।