काठमाडौं । दशैंको मुखमा सिन्धुपाल्चोकको तातोपानी नाका खुल्ने भएको छ । नाका १९ असोजबाट खुल्ने निर्णय भएको हो । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालले असोज १९ बाट चीनबाट सामान नेपाल आइपुग्ने नेपाली संचारमाध्यमलाई जानकारी दिएका छन् ।
मंगलबार प्रमुख जिल्ला अधिकारी ढकाल नेतृत्वको नेपाली टोली र ल्हासाको फरेन अफिसका डेपुटी डाइरेक्टर लि उलिन नेतृत्वमा वार्ता भएको थियो । यी दुई टोलीबीच नाका खोल्ने विषयमा सहमति भएको बताइएको हो । उनका अनुसार दुई देशको टोलीबीच असोज १८ गतेसम्म तयारी पूरा गर्ने र १९ गतेबाट चिनियाँ सामान नेपालमा झार्ने व्यवस्था गर्ने सहमति भएको हो ।
नाका खुल्ने दिनसम्म नेपालले लोड अनलोड गर्ने मजदुरको टोली तयारी अवस्थामा राख्नुे सहमती भएको छ । तातोपानी भन्सार कार्यालयका अनुसार चीनबाट ल्याएका सामान लोड अनलोड गर्न पीसीआर रिपोर्ट नेगेटिभ आएका २५ र २९ जनाको दुई वटा श्रमिक टोली तयारी अवस्थामा राखिने भएको छ ।
सबै श्रमिकको हरेक ५, ५ दिनमा पीसीआर परीक्षण गराउने र स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने सहमति समेत भएको छ । चीनतर्फको रसुवागढी नाकाबाट भने सामान आउन थालेको छ ।