काठमाडौं । निजी क्षेत्रको वायु सेवा प्रदायक तारा एयरलाइन्सले पोखरा-जोमसोम उडान एक साताका लागि बन्द गरेको छ ।
मौसमका कारण जेठ २० देखि २७ गतेसम्म एकसाताका लागि उक्त रुटको उडान बन्द गरिएको तार एयरले जनाएको छ । आज जोमसोमका लागि निर्धारण गरिएका सबै उडान समेत रद्द भएको छ ।
तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाले एकसाताका लागि जोमसोम उडान बन्द गरिएको बताए । ‘आजदेखि एक साताका लागि तारा एयरले पोखरा–जोमसोम उडान बन्द गर्ने निर्णय गरेको छ,’ उनले चाणक्य पोष्टसँग भने, ‘मौसमको समस्या र हाम्रो आन्तरिक कारणले उडान बन्द गर्ने भएका हौँ ।’
मौसम सम्बन्धी जानकारी दिननसक्दा आज पनि तारा एयरको अन्य उडान पनि प्रभावित भएको उनले बताए । ‘हामीले टावरसँग उडान अनुमति माग्नु अघि मौसम सम्बन्धी रिर्पोट माग्छ । समयमा इनरुट मौसम दिन नसकेपछि १० बजेपछिका सबै फ्लाइट अफ गर्यो,’उनले भने ।
आइतबार तारा एयरको जहाज दुर्घटनामा परी २२ जनाको मृत्यु भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले ‘इनरुट’ मौसम सफा नभई उडान अनुमति नदिने बताएको थियो ।
तर, जल तथा मौसम विज्ञान विभागले प्राधिकरणले भने जस्तो आन्तरिक उडानको ‘इनरूट’ मौसमी पूर्वानुमान गर्न नसक्ने बताएको छ । यसका लागि प्रविधि र जनशक्तिको अभाव रहेको विभागले स्पष्ट पारेको छ।
मौसम पूर्वानुमान महाशाखाले हवाई मौसम सेवा अन्तर्गत अन्तर्राष्ट्रिय हवाई उडानका लागि आवश्यक मौसमी सूचना तथा इनरूट पूर्वानुमान दिँदै आएको छ।