कुमार न्यौपाने, न्युयोर्क
जुलाइ १ को दिन एकतमासले पानी परिरहेको थियो । सधैं भिज्थें, छाता बोक्न भ्याएकोले छाता भिजिरहेको थियो । छाताको ओतले नभ्याउने भाग त भिज्यो नै तर टाउको र कुम नभिजेपछि आफु ओभानै भएको भान हुदैथियो ।
केही किताबहरुसंग सम्बन्धित कामहरु लिएर हिँडेको थिएँ । कितावको कुरा सम्झँदाको एउटा सन्दर्भ आउँछ । गत नोवेम्बर तिर ओबामाको पछिल्लो पुस्तक अ प्रोमीस्ड ल्याण्ड बजारमा आएको भोलीपल्ट नै इस्टभिलेजको टार्गेट स्टोरमा ओल्टाइपल्टाइ गरिटोपलेको थिएँ । एक बर्षअघि नै नेपालबाट ल्याएका नेपाली पुस्तकहरु नै बीचबीचमा चिन्ह लाउँदै छोड्दै गर्नेलाई यति मोटो अंग्रेजी किताब पढ्ने जाँगर कहिले चल्ला अनि किनौला भन्ने लाग्यो र त्यसै छोडें ।
त्यहि डिसेम्बर तिर नेपाल रहँदाको कुरा हो । बेला बेला साँखु माथिको रमणीय जर्सिङ्गपौवा जाने मौका मिल्थ्यो । त्यहाँ पुग्दा मौका मिल्यो कि हाइकिङ्गको ट्रेलहरुमा झोला भिरेर एक्लै वा साथिहरुसंग लम्किरहेको भेटिने ल क्याम्पसका प्राध्यापक गणेश भट्ट सरको सम्झना आउँछ, उसो त अभि सर पनि प्रसस्तै हिड्नु हुन्छ ति देउराली र भन्ज्याङ्गहरुमा । उत्तरतिर मेलम्ची र दक्षिणपुर्व नगरकोट जाने मोटरबाटो र हाइकिङ्गको लागी मिल्ने अरु बाटोहरु त्यही पौवाबजारको चोक हुदै तेर्सिएका छन । केही छिनको मोटर कुदाइपछि हामीलाइ भने मेलम्ची जाने पट्टी अलि पर निर्माण पुरा भैनसकेको पहाडको टुप्पोको नयाँ रेष्टुरेण्टको वेटर र चिसो हिमाली हावाले राम्रै स्वागत गरेको थियो । उत्तरपट्टीको हिमाली दृष्यहरु प्रष्ट देखियोस भनेर बरण्डाको भाग शिसाले बारीएको रहेनछ । त्यसैले स्याँठ चल्दा छाति बेजोडले सेक्थ्यो ।
नेपाली मसला चिया, मेरो पहिलो अर्डर !
अनि त्यो चिसोको चुनौतीलाई चिर्न तातो तातो चिकेन थुक्पा । यति अर्डर लिइसकेका वेटर बोल्छन, सरहरु ! कुनै किताव पढ्नुहुन्छ कि? मेरो साथी मनोज श्रेष्ठले अलि नाक खुम्च्याउँछन र म पनि मनमनै सोच्छु यो सुनसान पहाडको टुप्पोमा किताव ? फेरी कस्तो किताव ? तातो चिया मात्रै सम्झिरहेको मेरो मनले के होला र यँहा किताब भन्दैथ्यो । ल ! सके ल्याउ, भने जस्तो मानी ओवामाको अ प्रमिस्ड ल्याण्ड छ ? (जुन १५ दिन अगाडि मात्र न्युयोर्कमा विमोचन भएको थियो) भनें ।
उनी गए । दुइ मसला चिया संगै उहि अ प्रमिस्ड ल्याण्ड मेरो अगाडीको टेवलमा राखिदिए ।
ल सर ! यहाँ बसुन्जेल पढ्नुहोस । असाध्यै राम्रो छ । मज्जाले बिस्मयमा पर्दै त्यो चिसोको तातो चिया छोडेर किताव पल्टाउन थालें । प्रकाशन भएको १५ दिन भित्रै नेपालको भन्ज्याङ्गतिर यो कितावको कल्पना पनि गर्न सकिदैन थियो । वेटर भित्र गएपछि म आफैदेखि आफैलाई भन्छु, यो त उहि किताव हो जुन न्युर्योकमा देखभेट भएको थियो । ल पढ् ! केहिवेर साथी र म मुखामुख गर्छौं । हामी भित्र च्वास्स पलाएको हेय भावनारुपी पोष्टमा ती वेटरले मज्जैले ड्रिबलिङ्ग गरी खेलको शुरुवात मै गोल हानेर गए झैं भयो । जहाँ ईच्छा त्यहि उपाय भने भैंm म चिया पिउदै किताव पल्टाउदै एक महिना अगाडीको इस्टभिलेज सम्झदै थिएँ । मेरो चुनौतीलाई चिरेर आएको किताबको केहि हरफहरु पढें र जीन्दगीका सद्भावनाका केहि अक्षरहरु बुझें । झण्डै दुइ घण्टापछि ती वेटर रुपी शेयरहोल्डरको बिस्तारै ठुलो लाइब्रेरी सहितको रिसोर्टको परीकल्पनामा काम भइरहेको योजना विवरण सुनेर उत्तरोत्तर प्रगतीको कामना गर्दै हिँडेको ७ महिनापछि आज त्यहि पुस्तक पढ्ने चाहना छोरी शैवीले पुरा गरीदिएकी छिन् ।
कोभिडको कारण लाइब्रेरीमा बसी पढ्न नपाइने नियम भएकोले लाइब्रेरी सदस्यताको अर्डर बमोजिम त्यो पुस्तक लिन न्युयोर्क पव्लिक लाइब्रेरी (ब्रायन्ट पार्क शाखा) पुगी पुस्तक झोलामा हाली झरीसंगै लहसीदै थिएँ । किताबको मात्रै काम लिएर हिंडेकोले कानुनका केहि किताबहरुको खोजिमा अझै हिड्नु थियो । कानुनका किताबहरुको मुल्यसुची हेर्दा निकै महंगो थियो । आधी मुल्य मै पाइने भएकोले झरीको दर्काइसंगै गुगलले बताए अनुसारका प्रयोग भइसकेका (पुराना) पुस्तक बेच्ने पसलहरु छिर्छु तर हात लाग्छ शुन्य ।

काठमाण्डौंका अनामनगर, ल क्याम्पसदेखि लाइनै पुतलीसडकसम्म, माइतिघरतिर टन्नै कानुनका किताब पाइने पसलहरु छन । खोजेको सजिलै पाइन्छ । के बित्यास परेको हो यहाँ । किताबै नभएको वा पसलै नभएको त पक्कै हैन होला यस्तै सोच्दै एकपल्ट न्युर्योक युनिभर्सीटीको बुक स्टोर पुग्छु, कसो नपाइएला भन्ने भयो । वाशिङ्गटन स्क्वायर पार्कको आडैमा रहेको त्यो पुस्तक पसल जाने क्रममा दोश्रो एभिन्युको ४८ औं स्ट्रिटमा बस कुर्दै गर्दा भेट हुन्छन एक पाका मान्छे ।
साल्भाडोरीयन बाजे (साबा) ।
छाता बन्द गरी पानी तक्र्याउदै थिएँ । बस कुर्ने ठाँउको बेन्चको एकातिर एक बृद्घ बाजे अर्कोतिर बस नै कुर्दैगरेकी अधबैंसे महिलासँग गफिदै गरेको देख्छु । बस स्ट्याण्डमा उभिदै गर्दा सुन्छु, साबा आफ्नो कौतुहलता पोख्दै प्रश्न सोध्छन तपाई कहाँबाट? महिला मुस्कुराउदै भन्छिन, म? म इंग्ल्याण्डबाट । उनको कौतुहलता, ओहो ! इंग्ल्याण्ड ? कस्तो राम्रो होला है ? हो राम्रो छ, तर म यहाँ बस्न थालेको २७ बर्ष भयो । श्रीमान र दुइ छोरीहरु छन । यहाँ पनि मनपर्छ । बेलाबेला जान्छु आमालाई भेट्न । बाबु बितेपछि एक्लै भएकी मेरी आमा कार्डिफको कन्ट्रीसाइडमा ठुलो बगैचा सहितको घरमा आनन्दसंग उहाँलाइ सघाउने मान्छेसंगै बस्नुहुन्छ । म बिबाहपछि यहाँको रैथाने भएँ । महिलाको प्रश्न, अनि तपाइ कहाँबाट ? बाजे भन्छन म साल्भाडोरको । बुढी औला र चोरी औलाकोे इसाराले देखाउदै भन्छन यत्ती सानो छ । थाहा छ तिमीलाइ साल्भाडोर ? महिला भन्छिन, एल साल्भाडोर ? हो सुनेकी छु भन्दै मुस्कुराउँछिन, बाजे मख्ख परेको भाव प्रकट गर्छन ।
निकै बेर बस नआउँदा म त्यो भलाखुसारी हेर्दै सुनीरहेको हुन्छु । कहिलेकाँहि बसहरु कुनै कारणवस ढिला भइदिन्छन । जे हुँदै थियो ठिकै थियो । मैले कोही बेलायती वा अमेरीकनहरुले फरासींदै बस स्टेसनको बेन्चमा भेटिएका कोही अन्जान व्यक्तिसंग आफ्ना मनका कुराहरु यसरी साट्दै गरेको पहिलो पल्ट सुन्दैथिएँ । हुनत सबै व्यक्तिहरुलाइ एउटै तराजुमा हाल्न मिल्दैन तैपनि यो गफगाफले यस मनको चिसो सहरमा मानिसले मानिसलाई आदर पनि गर्छ, कोही सुन्न र केहि सुनाउन पनि मन गर्छन है भन्ने सन्देश दिदैथियो । सायद ति महिला पनि म जस्तै आफ्ना बाबुलाई पो सम्झदै थिइन कि !

जहाँजहिले आफ्नो स्वार्थ पुरा गर्न छालाको रङ्गमा राजनिती गर्नेहरुले अर्कै तरीकाले सोच्छन होला तर विबेकी मानिसहरु एकअर्काको अस्तित्वलाइ आदरसम्मान गर्छन चाहे ती धनी देशका हुन चाहे गरीब । यो छोटो सम्वाद त्यसैको एउटा सानो उदाहारण झैं लाग्यो । बस आइपुग्यो, सबैजना बस चढ्न गए तर मेरो लागी भने आएन । यो एक्स्प्रेस बस मेरो लागी थिएन । मेरो पुग्ने ठाँउभन्दा निकै पर गएर रोकीने भएकोले म थन्किएँ । स्टेसनमा बाकी रह्यौं दुइजना । म र उहि साल्भाडोरीयन बाजे ।
अघिको महिला बसेको बेन्च खाली भयो, त्यहीँ गएर बसें । छाते टोपी लगाएका बाजे अघिदेखि बोलौं झैं गरीरहेका थिए, अहिले मौका पाए र बोलीहाले । तिमी किन बस नचढेको? ए म ! यो मेरो बस परेनछ, अर्को आउँछ अनि चढ्छु । म कुरा थप्छु, के तपाई एल साल्भाडोरबाट ? बाजे हँसीलो मुहारमा भन्छन, हो नी ! अनि प्रतिप्रश्न गर्छन, तिमी त? मैले चिन्छन कि चिन्दैनन भनेर आफ्नो टिसर्टमा भएको नेपालको सानो झण्डा देखाएर भनें, म यहाँको ! चिन्नुहुन्छ ? केहिबेर हेर्छन तर भेउ पाएनन । म त्यसैपनि आँखा अलि कम देख्छु अनि झण्डा त होला, कति सानो रहेछ । हो, सानो नै छ । अघि तपाईले मेरो देश सानो छ भन्दै गरेको सुनेको थिएँ । तपाईको देश र यो झण्डा उत्रै हो त? उनि अब चाउरीएका गालाा झनै मुजापार्दै मज्जाले हाँस्छन । त्यो त हैन तर भन्दैथिए, मेरो देश सानो नै छ । मैलें जमिनको आकारले मात्रै कुनै देश ठुलो र सानो हुन्न भन्दै कुरा काटें । महाकवीको ‘के नेपाल सानो छ?’ भन्ने निबन्ध सम्झिन पुगें । त्यो देश भित्र के के छ ? जंगल, पानी, जैविक बिविधता, कस्तो छ हावापानी, त्यहाँ बस्ने मानिसहरु कत्तीको खुशी छन यी सबैले त्यो देशको महानता मापन हुन्छ भन्दै म पनि तपाइले भने जस्तै भुगोलको हिसावले सानो देशको मान्छे हुँ तर म आफ्नो देशलाई सानो मान्दिन । उनलाइ मेरो कुरा एकतमासको त लागेन भनि रोक्कीएँ । अब गम खाँदै भन्छन राम्रो कुरा भन्यौं तिमीले । साच्चीकै मेरो देश तिमीले भने जस्तै सबैकुराले भरीपुर्ण छ, उहि हो धनी र गरीवको कुरा आउँदा हामीलाई मन खिन्न लाग्छ ।
३०० बर्ष स्पेनको उपनिबेश, त्यस पछिको ‘कु’ अनि १० बर्षे जनयुद्घ र आज आएर बिश्वास गरेका नेताहरुले हाम्रो हितमा काम गरेका छैनन । आफ्नो देशको हालतसँग आधाआधि मिलेको अवस्थामा मैले आफ्नै देशका नेताहरुलाइ सम्झदै सम्झाउँछु उनलाइ र उसैगरी आफ्नै मनलाई । अब बिस्तारै राम्रो होला, कुनै पनि देश एकै रात सक्षम र धनी भएका हैनन नि त । कुनै दिन त राम्रो मान्छेको हातमा पनि जाला नि हाम्रो देशको बागडोर, त्यसपछि कसैले रोक्न खोज्दा पनि रोकिन्न । तपाईको जस्तै मेरो देशपनि विकास गर्नुपर्छ भन्ने अठोटमा छ, अनि झण्डा देखाउदै भनें, म यो झण्डा भएको देश नेपालको हुँ ।
लामो सास फेरी मलाइ हेर्दै भन्छन ओहो ! नेपाल ? मैले सुनेको छु । धेरै केहि थाहा त छैन तर अग्लाअग्ला हिमालहरु छन रे अनि कहिले हो ठुलो भुँइचालो आएको थियो हैन र? मलाई ति साल्भाडोरका बाजेले मेरो देशको बारेमा जे जति बताए त्यो नै ठुलो लाग्यो । आफ्नो देश आफ्नैले बिर्सेका कयौं कथा कहानी सुनीदै आइएको छ । यस्तै देश र झण्डाको गफैगफले बस आएर गयो कि आउदै आएन पत्तै भएन । गफ मज्जा लाग्दैथियो दुबैलाइ । यत्तीका बेरपछि बस स्टेसनमा कहाँ जान बसेको तपाई भनि बल्ल सोध्न पुगें । ए ! मेरो त काम छैन, सबै काममा कता कता जान्छन । म समय काट्न यसै घुम्छु कोरोना घटेदेखि । ए लौ, त्यसो पो । मैले सोचेको थिएं कतै जाँदै हुनुहुन्थ्यो । छाता नबोकी अघि नै निस्कीएको म, झरी परेको पर्यै छ, रोकिएला अनि जान्छु । उनी झरी रोकिने बाटो पो कुर्दै रहेछन ।
मेरो भने बेलुका ६ बजेसम्म पुस्तक पसल खुल्ने भएकोले र झरीको अलमलले पनि गफिन पाउँदा मन हलुङ्गो नै मान्दैहुन्छु । यस मध्य शहरमा बोल्न खोज्दै गरेको एक पाको मान्छे त्यसमाथि अलि अघि नै बुवाको अभाव भोगेको मलाई उस्तै उमेरका मानिसहरु देखभेट हुँदा मन त्यसै रमाउँछ ।
उसो त पाका मानिसहरुका नियमीत गर्नेपर्ने काम हुदैन, हत्तपत्त गफ गर्ने र केहि कुरा साट्ने कोहि हुदैनन । १४ बर्ष अघि श्रीमती बितेपछि छोराबुहारीहरुले यतै डोर्याएका बाजेका ६ सन्तानहरुमा अधिकांश अमेरीका तिरै गुजारा गरीरहेका रहेछन । शुरुमा बिरक्तिएका उनी हाल कान्छो छोरोसंगै बस्दैआएका अब त अलि अलि मन पर्न थाल्यो यो ठाँउ भन्दैथिए । अंग्रजी राम्रै बोल्ने बाजेलाइ सोधें, कति राम्रो अंग्रेजी बोल्नुहुदो रहेछ । कहिले सीक्नुभयो नी ? उनि ठट्यौलो पारामा भन्दै थिए, हो ठिकठिकै बोल्छु । मैले ३२ बर्ष स्कुलमा पढाँए । त्यो पनि अंग्रजी, त्यसैले यत्तिको अंग्रेजी बोल्छु र यो ठाँउमा अलि सजिलो भएको छ । नत्र मेरो त बिजोग हुन्थ्योहोला । उसो त यहाँ स्पेनिस बोल्ने र बुझ्ने बग्रेल्ति नभएका हैनन । हाम्रो मुलुकतिर उहिल्यै अर्कैले लादिएको स्पेनिस बोल्छौं । मेरो पुख्र्यौली भाषा नवात, पोकोममहरु त अचेल घाटमा पुगेका छन । पुस्तौनी सर्दै आएकोले कोहि कोहि बुढापाकाहरु बोली टोपल्छौं तर दुखी छौं । भाषा संस्कृती माथी हुने हस्तक्षेपले कसरी समाज र देशको पहिचान गुम्दो रहेछ, त्यो हामी लगायत प्रायः मध्य र दक्षिण अमेरीकनहरुले भोग्दैछन । ।
निकैबेर भयो बस आएन । अब ट्रेनको बाटो समात्न पर्छ भन्दै बसको ए्याप खोलेर तालीका हेरें, यो रुटमा केही समय कुर्नुपर्ने भएकोले क्षमाप्रार्थी छौं भन्ने सुचना अघिदेखि नै रहेछ । अब केही मिनेट कुर्छु, आएन भने अर्को उपाय तिर लाग्छु भन्ने भयो । झण्डै ३ मिनेटपछि मैले खोजेको रुटको बस अलि परबाट आइरहेको देखें । बस स्टेसनमा आइनपुग्दै साबालाई आग्रह गरें । तपाईंलाई झरी कै कारण घर पुग्न समस्या हो भने मेरो छाता लिनुस पछि फिर्ता लिउँला । बिनम्रताका साथ उनलाई पानीले कुनै समस्या नपारेको र विस्तारै घर जाने बताए । तिमी आफ्नो ख्याल राख भन्दैथिए । बस आइवरी स्टेसनमा रोकिन्छ । म चढ्न जान लागें । हात मिलाउन उनले हात दिए जस्तो लाग्यो । हो रहेछ, खुसीले हात समाएर भने ओके टेक केयर सन ! मैले यु टु बाजे नै भनें उनले कति बुझे । हात हल्लाउदै भित्र छिरें ।
उनको देश (साल्भाडोर) को बिषयमा अलिअलि जानकारी भएपनि बस चढेपछि गुगल गरी हेर्न मनलाग्यो । प्रसान्त महासागरतिर फर्कीएको एक मध्य अमेरीकी देश एल साल्भाडोर भौगोलिक रुपमा अमेरीकी महादेश कै सबैभन्दा सानो रहेछ । होन्डुरस र ग्वाटेमाला छिमेकी रहेको यो मुलुकमा ५०० थरीका चराहरु, १००० थरीका पुतली, ४०० थरीका सुनगाभा, ८०० थरीका रुखहरु र ८०० थरीकै माछाहरु पाइने रहेछन । भौगोलीक रुपमा ठुला मानिने कुनैपनि देशको दाँजोमा कम छैन । यो विवरण एल साल्भाडोरको लागी अमेजन भन्दा कम हैन र यस्तो विबिधता भएको देशलाई कसरी सानो भन्ने ? भन्ने मेरो अघिको मतलाई यो तथ्यले पुस्टी गरीदियो झैं लाग्यो ।
मानिसका देश, भुगोल, धर्म, संस्कार र परिस्थिति अनि उमेर एक अर्कामा फरक पर्न सक्छ । तर जुन भुगोलको होस मनले चाँहि सबै मनहरुलाई समान देख्दोरहेछ । सबैभित्र भएका दया, माया, करुणा, भावना र संबेदनाहरु हृदयबाटै बोलीन्छ । आफ्नो देशलाई सानो मानेका साल्भाडोरीयन बाजेले अब उप्रान्त आफ्नो माटोलाई सानो नमान्लान की ! देवकोटाको आफ्नो देश कहिले सानो हुन्न भन्ने वाणी हामी र उनको मनमा पनि गडिरहोस । अ प्रमिस्ड ल्याण्डमा ओबामाले प्रत्येकको बिशिष्ट पहिचान हुन्छ, भनेका छन् ।
अन्ततः भ्याए जतिका किताब पसलहरु चाहार्छु तर लिस्टको किताब एउटै भेट्टाउदिन । लिस्टको अन्तिम पुस्तक पसलबाट जानकारी पाउँछु कि यी किताबहरु अनलाइनबाट अर्डर गर्नुपर्ने हुन्छ । यो प्रविधिको युगमा पसल चाहारेरै किताव किन्ने मेरो प्रयास र झरी उस्तै उस्तै भयो । अस्तु !