काठमाडौं । लामो लकडाउनका कारण ग्यारेजमा थन्किएर बसेका सवारी साधनको मर्मत गर्न व्यवसायीले बैंकबाट ऋण लिन सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक सवारी साधन मर्मतका लागि पनि ऋण प्रवाह गर्ने व्यवस्था मिलाएको बताएको छ । चालु आर्थिक वर्षका लागि जारी गरिएको मौद्रिक नीतिमा कोभिड १९ बाट अति प्रभावित सार्वजनिक यातायात सञ्चालन तथा मर्मतसम्भारको लागि बैंक तथा वित्तीय संस्थाले प्रतिसवारी साधन २ लाख रुपैयाँसम्म थप कर्जा प्रदान गर्न सक्ने व्यवस्था मिलाइएको हो ।
सार्वजनिक सवारी धनीले निषेधाज्ञामा थन्किएका सवारीको मर्मतका लागि नगद प्रवाह नभएको गुनासो गरेका बेला केन्द्रिय बैंकले यस्तो व्यवस्था गरेको हो । सार्वजनिक यातायात व्यवसायका ऋणीले २०७८ पुससम्म भुक्तान गर्नुपर्ने साँवा तथा ब्याज दायित्वको समयावधि एक वर्षसम्म थप गरी कम्तीमा चार किस्तामा भुक्तानी गर्न सक्ने व्यवस्था गरिनेछ । यो व्यवस्था कोभिड(१९ महामारीका कारण नगद प्रवाह अवरुद्ध भएका लघु, घरेलु, साना र मझौला व्यवसायलाई समेत लागू हुने व्यवस्था पनि नीतिले गरेको छ ।