अधिकांश अमेरिकी जनता मुलुकले लिएकाे दिशाप्रति असन्तुष्ट

वासिंटन डिसी
झन्डै दुई तिहाई अमेरिकी आफ्नो मुलुकको लिएको दिशाप्रति असन्तुष्ट देखिएका छन् । ग्यालप न्यूजको सर्भेक्षण अनुसार ६३ प्रतिशत अमेरिकीले मुलुकको दिशाप्रति असन्तुष्टि जनाएका हुन् ।

३६ प्रतिशत जनता भने अमेरिकाले अवलम्बन गरेको दिशाप्रति सन्तुष्ट देखिएका छन् । ग्यालपका अनुसार मुलुकप्रति खुसी हुने नागरिको संख्या अहिले आठ महिनाको उच्च बिन्दुमा पुगेको हो ।

मे १ देखि १२ सम्म ग्यालपले गरेको सर्भेक्षणमा यो नतिजा आएको हो । गएको अक्टुबर यता मुलुकको दिशाप्रति खुसी हुने अमेरिकीको संख्या ३५ प्रतिशत हाराहारीमा स्थिर देखिएको छ । यस्तै २००५ यता यो संख्या ४० प्रतिशत माथि पनि लाग्न सकेको छैन । सन् १९९८ मा मुलुकको दिशाप्रति खुसी हुने अमेरिकीको संख्या ७१ प्रतिशत थियो । ग्यालपले सन् १९७९ मा सर्भेक्षण थालेयताको यो सबैभन्दा उच्च अंक हो ।

त्यस्तै सबैभन्दा न्यून बिन्दुमा भने सन् २००८ मा झरेको थियो । अमेरिकामा भयानक आर्थिक मन्दी देखिएको उक्त समयमा सात प्रतिशत नागरिक मात्र मुलुकको भविश्यप्रति आशावादी देखिएका थिए । पछिल्लो समय बढि रहेको रोजगारीको दर सकारात्मक सोच राख्नेको संख्या केही बृद्धि हुनुको मुल कारक रहेको ग्यालप न्यूजले विश्लेषण गरेको छ ।

मुलुकको दिशा प्रति आशावादी हुने र नहुने नागरिकको संख्यामा राजनीतिक दल आवद्धताले पनि ठूलो प्रभाव पारेको सर्भेक्षणले देखिएको छ । ६२ प्रतिशत रिपब्लिकनहरुले आफु मुलुकले लिएको दिशाप्रति सकारात्मक रहेको बताएका छन् भने डेमोक्र्याटमा यस्तो संख्या १३ प्रतिशत मात्र रहेको छ ।

यस्तै मुलुकले अवलम्बन गरेको दिशा प्रति असन्तुष्ट हुने नागरिकहरुले पहिलो कारक सरकार एवं कमजोर राजनीतिक नेतृत्वलाई मानेका छन् । २३ प्रतिशत अमेरिकीले नेतृत्वका कारण मुलुकले लिएको दिशाप्रति सन्तुष्ट हुन नसकिएको जवाफ दिएका हुन् । असन्तुष्ट हुने दोस्रो कारकमा आप्रवास (इमिग्रेसन) देखिएको छ । १९ प्रतिशतले इमिग्रेसनका कारण सन्तुष्ट हुन नसकेको बताएका छन् । तेस्रोमा सात प्रतिशतले स्वास्थ सेवालाई समस्याको आधार देखाएका छन् ।