दुर्गमका विद्यार्थीलाई सरकारले निःशुल्क इन्डक्सन चुल्हो दिने, आवेदन माग

काठमाडौं । सरकारले दुर्गम क्षेत्रका विद्यार्थीहरुलाई निःशुल्क विद्युतीय (इन्डक्सन) चुल्हो उपलब्ध गराउने प्रक्रिया अगाडि बढाएको छ ।वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले निःशुल्क विद्युतीय चुलो वितरण गर्न माग संकलनका लागि आवेदन आह्वान गरेको हो ।

केन्द्रले दुर्गम क्षेत्रबाट काठमाडौं उपत्यका आएर कोठा भाडामा बसेका सरकारी वा सामुदायिक शिक्षण संस्थामा अध्ययनरत विद्यार्थीहरुलाई चुल्हो दिने भएको हो ।

एलपी ग्यासको मूल्य बढ्दो अवस्थामा राहत दिने उद्देश्यसहित यस्तो निवेदन आह्वान गरिएको केन्द्रले बताएको छ । त्यस्तै विद्युतीय चुलोको पनि प्रबद्र्धन पनि गर्ने केन्द्रको विश्वास छ ।

यो सुविधा स्नातक र स्नातकोतर तहमा अध्ययन गर्ने विद्यार्थीहरुका लागि उपलब्ध गराइने छ । यसका लागि विद्यार्थीले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी र शिक्षण संस्थाको विद्यार्थी परिचयपत्र र सिफारिस केन्द्रमा बुझउनुपर्ने छ ।

तोकिएको शर्त पुग्ने विद्यार्थीहरुले यही फागुन २५ गतेसम्म आवेदन दिन सक्ने केन्द्रले जनाएको छ । साथै यस सम्बन्धी विस्तृत जानकारी फारम केन्द्रको वेबसाइटमा उपलब्ध छ ।